कांग्रेसमा खड्का–डा.कोइराला समूहको अलग्गै कार्यक्रम, दुई दिनका लागि बैठक आब्हान
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइराला समूहले प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई छुट्टै बधाई कार्यक्रमको आयोजना गर्दैछ।
काठमाडौं, चैत १६ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइराला समूहले प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई छुट्टै बधाई कार्यक्रमको आयोजना गर्दैछ।
धुम्बाराहीस्थित स्मार्ट मलमा आयोजित कार्यक्रम दिउँसो एक बजेलाई तय भएको छ। ‘आजको कार्यक्रमलाई मिडियामा अलग्गै बैठक भनिएको छ, तर बैठक भन्दापनि बधाई कार्यक्रम राखिएको हो,’ डा।कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने।
उक्त कार्यक्रममा समसामयिक वा आन्तरिक राजनीति र सर्वोच्च अदालतमा दायर गरेको रिटबारे छलफल समेत हुने जनाइएको छ । सर्वोच्चमा दायर रिटको पेसी चैत २२ गतेका लागि तोकिएको छ।
गत पुसमा भएको विशेष महाधिवेशनले चयन गरेको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको देउवा समूहले अलग्गै गतिविधि गर्दै आइरहेको छ।
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्का र कोइरालाकै अगुवाइमा बधाई कार्यक्रम आयोजना गरिएको हो।
उक्त समूहले प्रतिनिधिसभामा निर्वाचित पार्टीका सांसदहरूलाई सोमबार बधाइको कार्यक्रमसँगै पार्टीको आन्तरिक राजनीतिबारे पनि छलफल गर्ने तयारी छ।
त्यस्तै भोलि मंगलबारदेखि १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवम सदस्यहरु सम्मिलित बैठक पनि आब्हान गरिएको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए।
निवर्तमान कार्यवाहक सभापति खड्काले तत्कालीन केन्द्रीय कार्यसमिति बैठक लगत्तै प्रदेश सभापति र जिल्ला सभापतिहरूको पनि भेला बोलाउने तयारी गरेका छन्।












