कर्णालीका विभिन्न जिल्लाहरुमा एमालेको प्रदर्शन, सुरक्षा निकाय ‘हाइ अलर्टमा’

सुर्खेत, चैत १४ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लाहरुमा एमालेले प्रदर्शन गरेको छ ।
आफ्ना अध्यक्ष ओलीलाई तत्काल रिहाईको माग गर्दै एमालेले प्रदर्शन गरेको हो । सुर्खेत, जुम्ला, कालिकोट र दैलेख लगायतका जिल्लाहरुमा एमाले कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
जुम्लामा एमालेले राँके जुलुस समेत निकालेको छ । सबै जिल्लाका एमाले नेताहरुले सरकारले जवरजस्ती मुलुकलाई मुडभेडमा लिने खोजेको आरोप लगाएका छन् ।
उनीहरुले तत्काल अध्यक्ष ओलीलाई रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी समेत दिएका छन् । एमालेले जिल्ला जिल्लामा प्रदर्शन गर्न थालेपछि प्रहरीले सुरक्षा सर्तकता बढाएको छ ।
सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कर्णालीको सुरक्षा व्यवस्था कडा पारिएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कर्णालीमा सुरक्षा सतर्कता अपनाइएको छ । प्रदेशभरका सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन सर्कुलर जारी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश मातहतका सबै जिल्लाहरुमा सुरक्षा निकायलाई उच्च सतर्कताका साथ बस्न सर्कुलर भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले बताए । जिल्लामा प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा स्थगित गरिएको र सबैलाई स्ट्यान्डबाई बस्न निर्देशन भइसकेको उनले बताए ।
कुनै पनि स्थानमा अप्रत्याशित घटना हुन नदिन र भईहाले पनि तुरुन्त नियन्त्रण गर्न सकियोस् भनेर सुरक्षा संयन्त्रलाई पूर्ण तयारीमा राखिएको उनले बताए ।
आवश्यक परे तत्काल परिचालन गर्न सकिने गरी सुरक्षा व्यवस्थापन सुदृढ गरिएको उनको भनाई छ । २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको छानबिनका लागि गठित आयोगको सिफारिसअनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि राजधानी काठमाडौंमा विरोध प्रदर्शन भइरहेका छन् ।












![एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_b5b1e1a5-1774702257.jpg)