गृहमन्त्री अर्यालको गरियो विदाई, शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी
पदभार ग्रहण गर्दा देशको समग्र अवस्था अन्योलपूर्ण रहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षा व्यवस्थापन, सुशासन सुदृढीकरण र निष्पक्ष निर्वाचन सम्पन्न गराउने मुख्य चुनौती आफ्नो सामु रहेको बताए।
काठमाडौं, चैत १२ : गृहमन्त्री ओमप्रकाश अर्यालको बिहीबार एक विशेष कार्यक्रमकाबीच औपचारिक रूपमा विदाई गरिएको छ। करिब ९० दिनको कार्यकाल पूरागरी पदमुक्त हुँदै उनले आफ्नो कार्यकालका अनुभव र उपलब्धिबारे प्रकाश पारे।
विदाई समारोहलाई सम्बोधन गर्दै उनले ‘जेनजी आन्दोलन’पछि उत्पन्न असामान्य परिस्थितिमा नागरिक सरकार गठन भएको र त्यसको केही समयपछि आफूले गृहमन्त्रीको जिम्मेवारी सम्हालेको स्मरण गरे ।
पदभार ग्रहण गर्दा देशको समग्र अवस्था अन्योलपूर्ण रहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षा व्यवस्थापन, सुशासन सुदृढीकरण र निष्पक्ष निर्वाचन सम्पन्न गराउने मुख्य चुनौती आफ्नो सामु रहेको बताए।
‘जेनजी आन्दोलनपछि देशमा उत्पन्न भएको असामान्य अवस्थाको बीचमा नागरिक सरकार गठन भएको थियो । सरकार गठन भएको केही दिनपछि मैंले गृहमन्त्रीको जिम्मेवारी प्राप्तगरी आजका दिनसम्म गरेर ९० दिन जिम्मेवारीमा रहे । गृहमन्त्रीको पदमा कार्यभार सम्हालेको सुरुका दिनमा देशको अवस्था अन्योलपूर्ण रहेको थियो,’ उनले भने, ‘देशमा नागरिकको जिउधन र शान्ति सुरक्षाको व्यवस्थापन गर्ने जिम्मेवारी प्राप्त निकाय गृहमन्त्रालयमा रहेर कार्य गर्दा मेरो सामु मुख्य रुपमा तीन कार्यभार रहेका थिए। देशको शान्ति सुरक्षा स्थितिको सामानीकरण गर्ने, सुशासन र सेवा प्रभावको सुदृढीकरण गर्ने र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने।’
उनले जेनजी जनआन्दोलनका कारण ध्वस्त भएका भौतिक संरचनाको पुनर्निर्माण, वैकल्पिक व्यवस्थापन तथा हिंसा भड्किन नदिन कानुनी राज्यको स्थापना प्राथमिकतामा राखिएको बताए । यसक्रममा सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीहरूको खस्किएको मनोबल उकास्दै अघि बढेको उनको भनाइ थियो।
‘जेनजी जनआन्दोलनमा ध्वस्त भएका भौतिक संरचनाको पुर्ननिर्माण तथा वैकल्पिक देखि शान्ति सुरक्षाको भरपूर्ण व्यवस्थापनगरि हिंसा भड्किन नदिन कानुनी राज्यको बहाली गर्नुपर्ने तथ्यलाई मध्यनजर गर्दै सुरक्षाकर्मी तथा राष्ट्रसेवकको खस्किएको मनोबललाई बलियो बनाउँदै हामी अगाडि बढ्यौं,’ उनले भने।
निर्वाचन हुने÷नहुने आशंकाबीच आवश्यक सुरक्षा तयारी, प्रशासनिक समन्वय र व्यवस्थापनमार्फत निर्धारित समयमै ऐतिहासिक निर्वाचन सम्पन्न गर्न सफल भएको उनले दाबी गरे । उक्त निर्वाचनले लोकतन्त्रप्रतिको निष्ठा र प्रतिबद्धता झल्काएको उनको भनाइ छ।
‘निर्वाचन हुने वा नहुने भन्ने आशंकाबीच आवश्यक सुरक्षा तयारी, प्रशासनिक समन्वय र व्यवस्थापन मार्फत निर्धारित समयमै ऐतिहासिक निर्वाचन गर्न सफलल भएर लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिवद्धता अव्यक्त भएको छ,’ उनले भने।
निर्वाचन सफल बनाउन आम नागरिक, उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले निर्वाचनपश्चात संविधानले सही बाटो समातेको दाबी गरे । जेनजी आन्दोलनपछि उत्पन्न अवस्थाबाट संविधानलाई सही दिशामा ल्याउन निर्वाचन अपरिहार्य रहेको उनले बताए।
‘निर्वाचन प्रक्रियालाई सफलतापूर्व सम्पन्न गर्न आम नेपाली नागरिक, उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यवेक्षक लगायतको महत्वपूर्ण भूमिका छ । निर्वाचन पश्चात संविधानले सही बाटो समातेको छ । जेनजी जनआन्दोलन पश्चातको आवस्थाबाट संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन अनिवार्य थियो जुन सम्पन्न भइसकेको छ,’ उनले भने।
कार्यकालको समीक्षा गर्दै उनले आफ्नो नेतृत्वमा मन्त्रालयबाट भएका प्रमुख कामहरू अभिलेखीकरण गरी संस्थागत सम्पत्तिका रूपमा हस्तान्तरण गरिएको जानकारी दिए । यस अवधिमा जेनजी आन्दोलनका घाइतेहरूको उपचार तथा राहत व्यवस्थापन, सेवा प्रवाह सुधार, कानुनी तथा प्रशासनिक सुधार, सुरक्षा निकाय सुदृढीकरण, विपद् व्यवस्थापन तथा अन्तरसत्तागत समन्वयमा महत्वपूर्ण प्रगति भएको उनले उल्लेख गरे।
‘निर्वाचित सरकारलाई जिम्मेवारी सुम्पिँदै गर्दा मेरो कार्यकाल ६ महिना भन्दा केही बढी मेरो नेतृत्वमा मन्त्रालयबाट भएका मुख्य मुख्य कार्यहरुलाई लिपिवद्ध गरी मन्त्रालयको सम्पत्ति संस्थाको अभिलेखको रुपमा हस्तान्तरण गरेको छु । यसअवधिमा जेनजी जनआन्दोलनका घाइतेहरुको उपचार र राहत व्यवस्थापन, सेवा प्रवाहमा सुधार, कानुनी तथा प्रशासनिक सुधार, सुरक्षा निकायको सुदृढीकरण, विपद् व्यवस्थापन तथा अन्तरसत्तागत समन्वय जस्ता क्षेत्रमा विभिन्न महत्वपूर्ण कार्यहरु सम्पन्न भएका छन्,’ उनले भने।
नवनिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्दै उनले आफ्नो कार्यकाल सकिएको घोषणा गरे।











