प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराए।
काठमाडाैं, चैत ११ : प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराए।
नेपाली कांग्रेसका केसी फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए। वर्तमान संसदका सबैभन्दा जेष्ठ सदस्य उनी ७८ वर्षका छन्।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधिश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
अब केसीले चैत १२ गते विहीबार प्रतिनिधि सभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउने छन्। सभामुख निर्वाचित नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गर्नेछन्।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् ।












