सिरहाको गोलबजारमा धुमधामका साथ चैती छठ पूजा सम्पन्न [तस्बिरहरू]
गोलबजारका विभिन्न पोखरी तथा नदी किनारहरूमा बिहानैदेखि व्रतालुहरू भेला भई अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका थिए।![सिरहाको गोलबजारमा धुमधामका साथ चैती छठ पूजा सम्पन्न [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/photo-4_a14f774d-1774417916.jpg)
सिरहा, चैत ११ : सिरहाको गोलबजारमा धुमधामका साथ चैती छठ पूजा मनाइएको छ । श्रद्धा, भक्ति र उत्साहका साथ मनाइने यस महान पर्वमा स्थानीय श्रद्धालुहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
गोलबजारका विभिन्न पोखरी तथा नदी किनारहरूमा बिहानैदेखि व्रतालुहरू भेला भई अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका थिए।
व्रतालु महिलाहरूले परम्परागत भेषभूषामा सजिएर विधिपूर्वक पूजा सम्पन्न गरेका थिए भने पुरुष र युवाहरूले व्यवस्थापनमा सक्रिय भूमिका निभाएका थिए।
पूजास्थलहरूमा सरसफाइ, सजावट तथा सुरक्षा व्यवस्थापन राम्रोसँग मिलाइएको थियो। स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा विभिन्न संघ–संस्थाहरूको सहकार्यमा कार्यक्रम व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताइएको छ।
चैती छठ पूजा विशेष गरी सूर्य देवताको आराधना गरिने पर्व हो, जसले परिवारमा सुख, शान्ति, समृद्धि र स्वास्थ्यको कामना गरिन्छ । गोलबजारमा यस वर्षको छठ पर्वले धार्मिक सहिष्णुता, सामाजिक एकता र सांस्कृतिक गौरवलाई अझ मजबुत बनाएको स्थानीयहरूको भनाइ रहेको छ ।
यसरी गोलबजारमा चैती छठ पर्व उल्लासमय वातावरणमा सम्पन्न भई सम्पूर्ण क्षेत्रमा धार्मिक तथा सांस्कृतिक माहोल छाएको थियो ।

















