Kathmandu Press

निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयनमा आए अर्थतन्त्र सुध्रिन्छ : अध्यक्ष ढकाल

‘निजी क्षेत्र पूर्ण रूपमा निराश हुनुपर्ने अवस्था छैन,’ ढकालले भने, ‘हामीले दिएका सुझावहरूमध्ये करिब ३० वटा कानुन, नियमावली र कार्यविधिहरू परिवर्तन भइसकेका छन् भने कतिपय परिवर्तनको प्रक्रियामा छन्।’
निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयनमा आए अर्थतन्त्र सुध्रिन्छ : अध्यक्ष ढकाल

काठमाडौं, चैत ३ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक सुधार र लगानीको वातावरण निर्माणका लागि निजी क्षेत्रले निरन्तर वकालत गरिरहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित स्थिर सरकार र आर्थिक नीति सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई अर्थतन्त्रको ‘इन्जिन’ का रूपमा स्वीकार गरिनु सकारात्मक भएको उल्लेख गरेका हुन्।

Hardik ivf

अध्यक्ष ढकालले महासंघकै माग र पहलमा सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गरेको जानकारी दिए। उनका अनुसार पूराना र बाधक कानुनहरू परिवर्तन गरी लगानीमैत्री वातावरण बनाउन यो आयोगले महत्वपूर्ण भूमिका खेल्नेछ।

‘निजी क्षेत्र पूर्ण रूपमा निराश हुनुपर्ने अवस्था छैन,’ ढकालले भने, ‘हामीले दिएका सुझावहरूमध्ये करिब ३० वटा कानुन, नियमावली र कार्यविधिहरू परिवर्तन भइसकेका छन् भने कतिपय परिवर्तनको प्रक्रियामा छन्।’

विगतमा राजनीतिक अस्थिरताका कारण कतिपय काम हुन नसके पनि अब स्थिर सरकारसँगै ती समस्या समाधान हुनेमा उनले विश्वास व्यक्त गरे।

सोही कार्यक्रममा बोल्दै महासंघकी पूर्वअध्यक्ष भवानी राणाले वर्तमान अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताइन्। विशेषगरी अन्तर्राष्ट्रिय संकटले नेपाली अर्थतन्त्रमा पारेको असरबारे उनले चिन्ता व्यक्त गरिन्।

‘अन्तर्राष्ट्रिय संकटका कारण रेमिटेन्स (विप्रेषण) प्रवाहमा कमी आउन सक्छ । यदि विदेशमा रहेका नेपाली कामदारहरू ठूलो संख्यामा फर्किए भने उनीहरूलाई रोजगारी दिनु राज्यका लागि ठूलो चुनौती हुनेछ,’ पूर्वअध्यक्ष राणाले भनिन्।

उनले बढ्दो महँगी र विश्वव्यापी आर्थिक मन्दीको प्रभावबाट जोगिन पूर्वतयारी आवश्यक रहेकोमा जोड दिइन्।

प्रकाशित मिति: २०:४२ बजे, मंगलबार, चैत ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्