सीईओको मनोमानीले राष्ट्रिय जीवन बीमा कम्पनीमा कर्मचारीहरु रुष्ट
हालसालै केही सञ्चारमाध्यमहरुमा कम्पनीसँग सम्बन्धित एक भिडियो फुटेजका आधारमा प्रसारित समाचारप्रति आपत्ती जनाउँदै कर्मचारीहरुले सामूहिक बिज्ञप्तिमार्फत आपत्ती समेत जनाएका छन् ।
काठमाडौं, फागुन ३० : राष्ट्रिय जीवन बीमा कम्पनीका कर्मचारीहरु प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पन्थीको मनोमानी प्रबृतिले कर्मचारीहरु कर्मचारीहरु रुष्ट बनेका छन् । सीईओ पन्थीले आम कर्मचारी तथा कम्पनीको छबि धमिल्याउनका लागि मिडियाबाजी गरेको आरोप समेत कर्मचारीहरुले लगाएका छन् ।
हालसालै केही सञ्चारमाध्यमहरुमा कम्पनीसँग सम्बन्धित एक भिडियो फुटेजका आधारमा प्रसारित समाचारप्रति आपत्ती जनाउँदै कर्मचारीहरुले सामूहिक बिज्ञप्तिमार्फत आपत्ती समेत जनाएका छन् ।
उक्त भिडियो कार्यालयको आन्तरिक कक्षमा भएको घटनाको आंशिक अंश मात्र सार्वजनिक गरेर कर्मचारीहरुलाई दोष थुपेरेको सिईओ चोख्खिन खोजेको बिज्ञप्तिमा उल्लेख छ ।
‘यसले घटनाको वास्तविक पृष्ठभूमि र संस्थाभित्रको परिस्थितिलाई पूर्ण रुपमा प्रतिविम्बित गर्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सम्पूर्ण सन्दर्भ स्पष्ट पार्नु आवश्यक ठानी यो विज्ञप्ति जारी गरिएको हो।’
सीईओले गत असार २३ मा अर्थ मन्त्रालयको स्वीकृतिसहित ल्याइएको कर्मचारी विनियमावलीका कारण कर्मचारीहरुले विगतदेखि खाइपाइआएका सेवासुविधामा वार्षिक रुपमा करिब २ लाख ५० हजार रुपैयाँबराबरको सेवासुविधा घटाई ल्याएको र यस विषय कर्मचारीले बारम्बार उठाउँदै आएतापनि वेवास्ता गरेको कर्मचारीहरुले बताएका छन् ।
कर्मचारीको सेवासुविधा घट्दा सीईओले कर्मचारीलाई अदालत जान उक्साएको, बदनियतपूर्ण तरिकाले आफ्नो साथीलाई कानुनी सल्लाहाकार नियुक्त गरी दबाउने प्रयास गरेको, अनावश्यक रुपमा पारिश्रमिक भुक्तानी गर्नको लागि कानुनी सल्लाहाकारलाई कार्यालयमा बोलाई हाजिर गराई कार्यालयको सम्पत्ति र स्रोतसाधान दुरुपयोग गर्ने गरेको आरोप पनि कर्मचारीहरुले लगाएका छन् ।
यसका साथै सीईओ नेपाल सरकार अर्थ मन्त्रालयको स्वीकृति विना विदेश तालिममा सहभागी भएको, कम्पनीको बार्षिकोत्सवमा समेत उपस्थित नभई कार्यक्रमलाई असफल पार्ने र कम्पनीको साख बिगार्न उद्दत रहेकोले स्थापनाकालदेखि मनाइँदै आएको वार्षिकोत्सवलाई बाधा पु¥याउने लगाएतका कार्यले कम्पनीको गरिमामाथी नै आँच आएको कर्मचारीहरुको भनाइ रहेको छ ।
२०८१ साल माघ १३ गते राजनीतिक भागवण्डाका आधारमा सिईओ नियुक्ति भएका पन्थीले तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलको भतिजो भएको भन्दै कर्मचारीहरुलाई धम्काउने गरेको समेत कर्मचारीहरुले बताएका छन् । त्यसो त पन्थीलाई तत्कालीन अर्थमन्त्री पौडेलले राजनीतिक बलमा ठाडो नियुक्ति दिलाएका थिए ।














