गाउँस्तरमै अस्पताल स्थापना भई सेवा प्रवाह हुनु लोकतन्त्रको महत्वपूर्ण उपलब्धि : मुख्यमन्त्री बानियाँ
लोकतन्त्रलाई भ्रमको व्यवस्था नभई सत्य र यथार्थको व्यवस्था भएको बताउँदै उनले जनप्रतिनिधिले जनताको कुरा सुन्दै र जनतामाझ रहेर काम गर्नुपर्नेमा जोड दिए।
मकवानपुर, फागुन २६ : मकवानपुरको कैलाश गाउँपालिकामा गाउँस्तरमै अस्पताल स्थापना भई सेवा प्रवाह हुन थालेकोलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
बुधबार आयोजित गाउँपालिकाको ९औँ स्थापना दिवस तथा १० शैयाको बिपी स्मृति कैलाश आधारभूत अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले लोकतन्त्रले नागरिकको आधारभूत आवश्यकता गाउँमै उपलब्ध गराउने वातावरण सिर्जना गरेको बताए।
उनले अब अस्पतालमार्फत रगत, दिशा–पिसाब जाँच, आँखा परीक्षण, हाडजोर्नी तथा सामान्य स्वास्थ्य सेवाहरू स्थानीय स्तरमै उपलब्ध हुने भएकाले कैलाशवासीलाई सहज हुने उल्लेख गरे। लोकतन्त्रलाई भ्रमको व्यवस्था नभई सत्य र यथार्थको व्यवस्था भएको बताउँदै उनले जनप्रतिनिधिले जनताको कुरा सुन्दै र जनतामाझ रहेर काम गर्नुपर्नेमा जोड दिए।
भौगोलिक रुपमा विकट मानिने कैलाश गाउँपालिका सडक सञ्जाल विस्तार, शिक्षा र स्वास्थ्य सेवाको सुधारसँगै क्रमशः विकासको मार्गमा अघि बढिरहेको उनले बताए। प्राकृतिक सौन्दर्यले भरिपूर्ण कैलाश धार्मिक तथा पर्यटन सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै त्यसलाई व्यवस्थित रूपमा विकास गर्नुपर्ने धारणा राखे। साथै उनले स्थानीय तहले सीपमूलक शिक्षा र उद्यमशीलतामुखी कार्यक्रममार्फत नागरिकको आयआर्जन बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले गाउँमै सञ्चालन भएको अस्पतालबाट सेवा लिन स्थानीयलाई आग्रह गरे । उनले सामान्य उपचार गाउँमै उपलब्ध भए पनि जटिल रोगको उपचारका लागि अस्पतालको सेवा लिनुपर्ने बताए।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले संघीय शासन प्रणाली कार्यान्वयनसँगै स्थानीय सरकारको महत्वपूर्ण आधारका रूपमा गाउँपालिका स्थापित भएको बताए। उनले यस वर्ष पहिलो पटक गाउँपालिकाले औपचारिक रूपमा स्थापना दिवस मनाएको जानकारी दिए।
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले अस्पताल सञ्चालनका लागि आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाए । उनले छिट्टै चिकित्सकको व्यवस्था गरी सेवा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा लोकगायिका प्रतिमा अर्यालले सांगीतिक प्रस्तुति दिएकी थिइन् भने कर्मचारी तथा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा वडाअध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक–शिक्षिका, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो।












