कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा
उनले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरूले भोग्दै आएका जटिल अवस्था र पीडालाई सम्बोधन गर्न राज्यले गर्नुपर्ने जति काम गर्न नसकेको उल्लेख गर्दै सरकारका तर्फबाट क्षमा मागे।
काठमाडौं, फागुन २७ : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले कुष्ठरोग प्रभावित व्यक्तिप्रति राज्यले पर्याप्त काम गर्न नसकेको स्वीकार गर्दै नेपाल सरकारका तर्फबाट क्षमा याचना गरेका छन्।
२८औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवस कार्यक्रमलाई सम्बोधन गर्दै सिन्हाले कुष्ठरोग स्वास्थ्यसँग सम्बन्धित समस्या भए पनि यसको सामाजिक, मनोवैज्ञानिक र आर्थिक प्रभाव अझ गम्भीर रहेको बताएका हुन्।
‘कुष्ठरोग एउटा स्वास्थ्य सम्बन्धि समस्या भएपनि यसको प्रभाव झन बढीरहेको छ। प्रभावित व्यक्तिलाई एउटा सामाजिक,मनोवैज्ञानिक र आर्थिक रुपमा असर पर्ने जटिल प्रक्रियाहरु र जटिल अवस्थाहरु जति तपाईंहरुले भोग्नु भएको छ त्यो हामीहरुले गर्नुपर्ने हो तर त्यति गर्न नसकेको अवस्था छ। त्यसको लागि म नेपाल सरकारको तर्फबाट क्षमा याचना गर्न चाहन्छु,’ उनले भने।
उनले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरूले भोग्दै आएका जटिल अवस्था र पीडालाई सम्बोधन गर्न राज्यले गर्नुपर्ने जति काम गर्न नसकेको उल्लेख गर्दै सरकारका तर्फबाट क्षमा मागे।
मन्त्री सिन्हाले कुष्ठरोग प्रभावित व्यक्तिहरूले आफ्नो दैनिक जीवनमा हकअधिकार र आत्मसम्मानका लागि निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै त्यस आवाजलाई सम्मान गर्नुपर्नेमा जोड दिए । उनका अनुसार यस्तो आवाज नेपालमा मात्र नभई विश्वभर नै सामूहिक आन्दोलनका रूपमा विस्तार हुँदै गएको छ, जसको उदाहरण उक्त कार्यक्रम रहेको उनले बताए।
‘कुष्ठरोग प्रभावित व्यक्तिहरुले आफ्नो दैनिक जिवनमा हक अधिकार र आत्मसम्मानको लागि आफ्नो आवाज उठाइ रहनु भएको छ। त्यो आवाजमा आदर सम्मान राख्नु भएको छ। नेपालमा मात्रै नभैइ विश्वभरी नै यो सामुहिक आवाज बन्दै गैइरेहको छ। यसको उदाहरण आजको यो कार्यक्रम पनि हो,’ उनले भने।
त्यसैगरी उनले कुष्ठरोग निवारण योग्य स्वास्थ्य समस्या भए पनि रोगप्रतिको असामाजिक उपेक्षा र विभेदका कारण प्रभावित व्यक्तिहरूले अझै समस्या भोग्नुपरेको उल्लेख गरे । सामाजिक व्यवहारमा सुधार ल्याउन आवश्यक रहेको बताउँदै उनले यसको सुरुवात शिक्षाबाटै हुनुपर्ने धारणा राखे।
‘कुष्ठरोग निवारण योग्य स्वास्थ्य समस्या भए पनि यो रोगप्रतिको असामाजिक उपेक्षाले हामीले एकआपसमा गर्ने सामाजिक व्यवहार सुधार गर्न आवश्यक छ। यसको सुरुवात शिक्षाबाट नै हुन्छ,’ उनले भने।












