Kathmandu Press

खेलाडी संघ र एन्फाबीच सहमति, ए डिभिजन लिग चैत ३० बाट

खेलाडी संघका अध्यक्ष विक्रम लामाले लामो समयको संघर्षपछि एन्फा लिग गराउने विषयमा स्पष्ट भएको बताए।
खेलाडी संघ र एन्फाबीच सहमति, ए डिभिजन लिग चैत ३० बाट

काठमाडौं, फागुन २६ : अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच सहमति भएको छ। 

सो सहमतिसँगै ए डिभिजन लिग गर्नुपर्ने लगायतका माग राखेर एन्फा कार्यालयमा संघले लगाएको ताल पनि खुलेको छ। 

Hardik ivf

एन्फा र खेलाडी संघबीच ए डिभिजन लिगको उद्घाटन खेल चैत ३० गते गर्ने सहमति भएको छ। सहमतिपछि एन्फा कार्यालयमा पत्रकार सम्मेलन गरेर त्यसको जानकारी दिइयो।

पत्रकार सम्मेलनमा एन्फाका प्रतियोगिता निर्देशक सन्जिव मिश्रले खेलाडी संघसँग भएको सहमतिअनुसार ए डिभिजन लिगको उद्घाटन खेल चैत ३० मा गर्ने निर्णय भएको बताएका छन्। उनले राष्ट्रिय लिगको तालिका संशोधन गरेर लिगका लागि समय मिलाउने योजना रहेको पनि जानकारी दिए।

 ‘खेलाडी संघसँग सम्झौता भएअनुसार चैतबाटै लिग सुरु गर्नुपर्छ भन्ने सहमति भएकाले चैत ३० गते उद्घाटन खेल गर्ने तय भएको हो। राष्ट्रिय लिग चैत ३० सम्म चल्ने तालिका भए पनि त्यसलाई रिभाइज गरेर केही अगाडि सकाउने योजना छ,’ उनले भने, ‘चैत ३० गते एउटा खेल गरेर वैशाख २० गतेदेखि नियमित रूपमा लिगका खेल सुरु गर्ने तयारी छ।’

खेलाडी संघका अध्यक्ष विक्रम लामाले लामो समयको संघर्षपछि एन्फा लिग गराउने विषयमा स्पष्ट भएको बताए। ‘लामो समयको सडक संघर्षपछि एन्फाले लिग गर्छौं भन्ने धारणा राख्नुभयो र मिति पनि तोक्नुभयो। यसअघि गर्छौं–गर्छौं भने पनि मिति तोकिएको थिएन। हामी लगातार संघर्ष गर्दै अन्ततः ताल्चा लगाउने स्थितिमा पनि पुगेका थियौं,’ लामाले भने।

प्रवक्ता सुरेश शाहले थ्रीस्टार क्लब र एपीएफ क्लबमध्ये कुन टोली ए डिभिजनमा रहने भन्ने विषय आधिकारिक निर्णय आएपछि मात्रै टुंगो लाग्ने बताए। उनले भने, ‘थ्री स्टार र एपीएफमध्ये कुन क्लब ए डिभिजनमा रहने भन्ने विषयमा आधिकारिक फैसला आएपछि अन्तिम निर्णय हुनेछ।’

२०७९ पछि ए डिभिजन लिग हुन सकेको छैन। त्यो बेला चर्च बोइज युनाइटेडले लिग जितेको थियो। 

प्रकाशित मिति: १९:५८ बजे, मंगलबार, फागुन २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्