देशको उन्नति र राष्ट्रको विकासका लागि सधैं काम गर्छु : सभापति शर्मा
‘विधेयक एन–२०८१ अघिल्लो समितिले बाँकी राखेको थियो । हामीले त्यसलाई अघि बढाएर सरकारलाई जवाफदेही बनाउँदै पारित गर्न पहल गरेका छौं। कानुन बनाउँदा त्यससँग सम्बन्धित विधान र कार्यान्वयनको पक्ष पनि उत्तिकै महत्वपूर्ण हुन्छ,’ उनले भने।
काठमाडौं, फागुन २४ : राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका सभापति प्रकाश शर्माले देशको उन्नति र राष्ट्रको विकासका लागि सधैं सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार समितिबाट बिदाइ भएका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै सभापति शर्माले संसद् र समितिले मुलुकको हितलाई केन्द्रमा राखेर काम गर्दै आएको बताए। उनले देशको उन्नति, सुशासन र कानुनी व्यवस्थालाई सुदृढ बनाउने दिशामा आफू निरन्तर लागिरहने उल्लेख गरे।
कार्यक्रममा उनले विगतमा समितिले बाँकी राखेको ‘विधेयक एन–२०८१┌ लाई अघि बढाएर सरकारलाई जवाफदेही बनाउँदै पारित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनका अनुसार उक्त विधेयक प्रत्यायोजित विधानसँग सम्बन्धित महत्वपूर्ण पक्षलाई समेट्ने भएकाले कानुन कार्यान्वयनको दृष्टिले पनि अर्थपूर्ण रहेको छ।
‘विधेयक एन–२०८१ अघिल्लो समितिले बाँकी राखेको थियो । हामीले त्यसलाई अघि बढाएर सरकारलाई जवाफदेही बनाउँदै पारित गर्न पहल गरेका छौं। कानुन बनाउँदा त्यससँग सम्बन्धित विधान र कार्यान्वयनको पक्ष पनि उत्तिकै महत्वपूर्ण हुन्छ,’ उनले भने।
सभापति शर्माले समितिले संघीयताको कार्यान्वयनलाई सरल र प्रभावकारी बनाउने विषयमा पनि छलफल तथा काम गरेको जानकारी दिए। संघीय संरचनाअनुसार कानुनी व्यवस्था र कार्यप्रणालीलाई व्यवस्थित बनाउन समितिले विभिन्न विषयमा सुझाव तथा अध्ययन गरेको उनको भनाइ थियो।
त्यसैगरी विकास निर्माणका कामलाई प्रभावकारी बनाउने विषयमा पनि समितिमा व्यापक छलफल भएको उनले बताए। ‘देशको विकासलाई कसरी तीव्र र व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा पनि समितिमा निरन्तर छलफल भएको छ,’ उनले भने।
कार्यक्रममा समितिबाट बिदाइ भएका सदस्यहरूको योगदानको प्रशंसा गर्दै उनले उनीहरूले विधायन प्रक्रिया सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले आगामी दिनमा पनि मुलुकको हितका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे।












