Kathmandu Press

रास्वपाको बहुमतपछि शेयर बजारमा ३ मिनेटमै तीन सर्किट, आजका लागि बजार बन्द

स्थिर सरकार बन्ने र नीतिगत स्थिरता आउने अपेक्षासहित लगानीकर्ताले आक्रामक रूपमा शेयर किन्न थालेपछि सोमबार खुलेको बजारमा लगातार तीन सर्किट लागेको हो।
रास्वपाको बहुमतपछि शेयर बजारमा ३ मिनेटमै तीन सर्किट, आजका लागि बजार बन्द

काठमाडौं, फागुन २५ : प्रतिनिधिसभा निर्वाचन–२०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुईतिहाइ बहुमत ल्याएपछि शेयर बजारमा अभूतपूर्व उत्साह देखिएको छ।

स्थिर सरकार बन्ने र नीतिगत स्थिरता आउने अपेक्षासहित लगानीकर्ताले आक्रामक रूपमा शेयर किन्न थालेपछि सोमबार खुलेको बजारमा लगातार तीन सर्किट लागेको हो।

Hardik ivf

बजार खुलेको एक मिनेटमै नेप्से ४ प्रतिशतले बढ्दै पहिलो सर्किट लाग्यो र २० मिनेटका लागि कारोबार स्थगित गरियो। त्यसपछि खुलेको बजारमा फेरि एक मिनेटमै नेप्से ५ प्रतिशत पुगेपछि दोस्रो सर्किट लाग्दै ४० मिनेटका लागि कारोबार रोकियो। पुनः खुलेको बजारमा अर्को एक मिनेटमै थप १ प्रतिशत बढेर कुल ६ प्रतिशत पुगेपछि तेस्रो सर्किट लाग्दै आजका लागि कारोबार बन्द गरिएको हो।

सोमबार नेप्से परिसूचक १६२.९३ अंकले बढेर २८७५.४३ विन्दूमा पुगेको छ। २५३ कम्पनीको शेयर कारोबार भएको बजारमा करिब ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

लगानीकर्ताहरूका अनुसार रास्वपाको स्थिर सरकार बन्ने अपेक्षा, शेयर बजार सुधारसम्बन्धी प्रतिबद्धता र सम्भावित आर्थिक सुधारका कारण बजारमा उत्साह बढेको हो। बजार विश्लेषकहरूले आजबाट सुरु भएको बुल ट्रेन्डले आगामी दिनमा नेप्सेले नयाँ रेकर्ड बनाउन सक्ने अनुमान गरेका छन्।

प्रकाशित मिति: १३:३५ बजे, सोमबार, फागुन २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्