निर्वाचन आयोगले दोहोरो चरित्र देखाउन खोजेको मातृकाको आरोप
आइतबार निर्वाचन आयोगले धनुषा क्षेत्र नं. १ को मतगणनाको नतिजा रोक्न निर्देशनसहितको पत्र जारी गरेपछि यस क्षेत्रका उम्मेदवारहरु आक्रोसित भएका छन्।
जनकपुर, फागुन २५ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम धनुषा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मातृका प्रसाद यादवले निर्वाचन आयोगले दोहोरो चरित्र देखाउन खोजेको आरोप लगाएका छन्।
आइतबार निर्वाचन आयोगले धनुषा क्षेत्र नं. १ को मतगणनाको नतिजा रोक्न निर्देशनसहितको पत्र जारी गरेपछि यस क्षेत्रका उम्मेदवारहरु आक्रोसित भएका छन्।
नेकपाबाट उम्मेदवारी दिएका यादवले हिजो धनुषाको धनुषाधाममा विरोध जनाएका थिए । उनले अबेर राति सोही स्थानमा पत्रकारसम्मेलन गर्दै निर्वाचन आयोगले जारी गरेको निर्देशनको विरोध गरेका छन्। उनले आयोगले आफैं गरेको निर्णय तीन पटक परिवर्तत गरेर अन्तमा उम्मेदवारहरुलाई नै अन्योलमा पारेको आरोप लगाएका छन्।
कालो सूचीमा नाम रहेको भन्दै निर्वाचन आयोगले पहिला रास्वपाका सोही क्षेत्रबाट उम्मेदवारी दिएका किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको थियो। त्यसपछि उनको मतगणना गरी छुट्टै लगत राख्ने भनी दोस्रो पटक निर्णय गरेको थियो। र, हिजो फेरि अर्को निर्णय गर्दै मुद्दा विचाराधिन रहेको भन्दै निर्वाचन परिणाम घोषणा नगर्न सुचना जारी गरेको थियो।
रास्वपाका उम्मेदवार कमलको उम्मेदवारी खारेज भएपनि उनलाई सो क्षेत्रमा अन्य सबै उम्मेदवारहरु भन्दा बढि मत परेको थियो। उनी पछि नेकपाका उम्मेदवार मातृका यादवलाई १० हजार ४२८ मत परेको थियो भने नेपाली कांग्रेसका उम्मेदवार रामपलटन साहलाई ९ हजार ४८५ र नेकपा एमालेका उम्मेदवार रामचन्द्र मण्डललाई ९ हजार २२० मत परेको थियो।
रास्वपाको उम्मेदवार कमलको उम्मेदवारी खारेज मान्ने हो भने नेकपाका उम्मेदवार मातृकको जित हुने निश्चित देखिएको थियो। तर हिजो आयोगले जारी गरेको सुचना पछि मातृकासहित सम्पूर्ण उम्मेदवारुको नतिजा अन्योलमा परेको छ।












