Kathmandu Press

गौर कारागार कार्यालयमा २२ कर्मचारी र ६१ कैदीबन्दीले गरे मतदान

६३ जना पुरुष मतदातामध्ये दुईजना भर्खरै कैदमुक्त भई गएकाले बाँकी ६१ जना कैदी बन्दीले उत्साहपूर्वक मतदान गरेका छन्। कारागारमा हाल १९९ पुरुष र ९ महिला कैदी बन्दी रहेका भए पनि महिलातर्फ भने कोही पनि मतदाता थिएनन्।
गौर कारागार कार्यालयमा २२ कर्मचारी र ६१ कैदीबन्दीले गरे मतदान

रौतहट, फागुन २१ : रौतहटको गौरस्थित कारागार कार्यालयमा प्रतिनिधि सभा निर्वाचनको मतदान कार्य सम्पन्न भएको छ। कारागारमा रहेका कैदीबन्दी र त्यहाँ खटिएका सुरक्षाकर्मी एवं कर्मचारीहरूले आज(विहीबार) मतदान गरेका हुन्।

कारागार कार्यालय गौर, रौतहट अस्थायी मतदान केन्द्रका मतदान अधिकृत सावित्रा थापाका अनुसार, कारागारमा रहेका कूल २०८ कैदीबन्दीमध्ये ६३ जना मतदाता सूचीमा रहेका थिए।

६३ जना पुरुष मतदातामध्ये दुईजना भर्खरै कैदमुक्त भई गएकाले बाँकी ६१ जना कैदी बन्दीले उत्साहपूर्वक मतदान गरेका छन्। कारागारमा हाल १९९ पुरुष र ९ महिला कैदी बन्दी रहेका भए पनि महिलातर्फ भने कोही पनि मतदाता थिएनन्।

कैदी बन्दीका अतिरिक्त सोही मतदान केन्द्रबाट निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले पनि मतदान गरेका छन्।

मतदान अधिकृत थापाका अनुसार, मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र कार्यालय सहयोगी गरी ३ जना कर्मचारी तथा कारागारका कर्मचारी, नेपाल प्रहरी र नेपाली सेना गरी २२ जनाले मतदान गरेका छन्।

निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी गरी कुल ८६ जनाले यस केन्द्रबाट मतदान गरेको मतदान अधिकृत थापाले जानकारी दिए।

मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको भएपनि मतपेटिका सिल गर्ने कार्य भने निर्वाचन आयोगको कार्यतालिका अनुसार साँझ ५ बजेपछि मात्र गरिने बताइएको छ।

प्रकाशित मिति: १६:१० बजे, बिहीबार, फागुन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्