काठमाडौं ५ मा प्रदीप पाैडेल ढुक्क
काठमाडाैं ५ मा उनको प्रतिस्पर्धामा एमालेका ईश्वर पोखरेल, रास्वपाका सस्मित पोखरेल, उज्यालो नेपालका श्री गुरुङ, राप्रपाका कमल थापालगायत छन्। रास्वपाका पूर्वउम्मेदवारको बलियो साथ पाएका प्रदीपलाई जित सहज भएको दाबी गरिएको छ।
काठमाडौं, फागुन १७ : नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेल विद्यार्थी आन्दोलनबाट खारिएर मूलधारको राजनीतिमा आएका नेता हुन्।
विशेष महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारी पाएका नेता पौडेल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा काठमाडौं ५ बाट उम्मेदवार रहेका हुन्।
गत निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका पौडेल यस पटक पनि सफलताको बाटोमा छन्। इमान्दारिता, सरलता र मिजासिला नेता प्रदीपको पक्षमा अहिले माहोलले बढेको छ।
२०३२ साल चैत गते शुक्ला–८, तनहुँमा जन्मिएका प्रदीप पौडेलको बसोबास हाल काठमाडौँको बानियाँटारमा हो। सिद्धार्थ वनस्थली इन्स्टिच्युटबाट एसएलसी, अमृत साइन्स क्याम्पस (अस्कल) बाट आईएससी र स्नातक तथा त्रिविबाट स्नातकोत्तर तह पूरा गरेका उनी नेपालका अन्य धेरै नेताजस्तै विद्यार्थी आन्दोलनबाट खारिएर राजनीतिमा आएका नेता हुन्।
उनी २०५३ सालमा अस्कल क्याम्पसको स्ववियू सभापति र २०६४ मा नेविसंघको केन्द्रीय अध्यक्ष निर्वाचित भएका विद्यार्थी हक अधिकारका मुद्दामा केन्द्रित भए। २०५९ देखि २०६३ सालसम्म संयुक्त विद्यार्थी आन्दोलनको संयोजक रहेका उनले राजद्रोहको मुद्दा पनि खेपे।
संविधान लेखनमा भएको ढिलाइविरुद्ध भएको मेची–महाकाली अभियान, महाभूकम्पपछिको उद्धार तथा पुनस्र्थापना अभियान, युवा उद्यमशीलता अभियान, नेपाली कांग्रेसलाई प्रविधिमैत्री बनाउन डिजिटल एप र कोरोना संक्रमितका लागि प्लाज्मा एप बनाउनेमा नेतृत्वदायी भूमिका खेलेको पौडेलको दाबी छ।
विशेष महाधिवेशनबाट महामन्त्री जितेपछि उनको राजनीतिक कद बढेको छ। १४औँ महाधिवेशनमा शेरबहादुर देउवाको टिमबाट महामन्त्री लडेका पौडेल गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग पराजित भए। त्यसपश्चात केन्द्रीय सदस्य मनोनित भएका उनी विशेषको पक्षमा उभिएर गगन थापा र विश्वप्रकाशलाईसाथ दिदा पार्टीको महामन्त्री बनेका हुन्।
अघिल्लो संसदमा सांसद हुँदा काठमाडौंको फोहोर व्यवस्थापन, खानेपानी र ट्राफिक सुधारलगायत क्षेत्रका आवजा उठाएर उनले आफ्नो जिम्मेवारी बहन गर्दै आए। स्वच्छ छवि भएका नेता पौडेल छोटो समय स्वास्थ्य मन्त्री भए। त्यसबेला पनि भ्रष्टाचार वा कुनै काण्डमा नमुछिएको ‘क्लिन इमेज’ राख्न सकेका नेतामध्ये एक हुन्।
पौडेल लोकतन्त्र, शान्ति, सुशासन र मानवअधिकारको क्षेत्रमा क्रियाशील विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि आबद्ध छन्। एक विद्यालय, एक पुस्तकालय; सार्वजनिक विद्यालय सुधार, हरेक विद्यालय इन्टरनेट एवं ई–लाइब्रेरी अभियानमा लागेर उल्लेख्य संख्यामा गरिब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ति र शैक्षिक सामग्री जुटाएको उनी बताउँछन्।
२०६७ बाट लगातार तेस्रो कार्यकाल केन्द्रीय सदस्य रहेका पौडेल कांग्रेसको चौधौँ महाधिवेशनमा महामन्त्रीको प्रत्यासी बनेर हारेपनि पार्टीभित्रको सुधार र राजनीतिभित्रको सुाशसनका पक्षमा निरन्तर लागिरहेका नेता हुन्। पार्टीभित्रको सफलतालाई मतदाताबाट अनुमोदन गर्न र जितलाई निरन्तरता दिन काठमाडौं–५ बाट चुनावी मैदानमा आएका पौडेललाई स्थानीय मतदाताले सकारात्मक स्वागत गरेका छन्।
२०७९ सालको निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका पौडेलले एमाले नेता ईश्वर पोखरेललाई झन्डै ५ हजारको मतान्तरले पराजित गरेका थिए । पोखरेलले राप्रपासँग चुनावी तालमेल गर्दा पौडेललाई तत्कालीन माओवादी सहितको गठबन्धनले साथ दिएको थियो।
यसपटक पौडेल र पोखरेल दुवै एक्लाएक्लै भिड्दै छन्। २०७० सालको निर्वाचनमा तनहुँबाट प्रदेश सभा सदस्यमा ६ मतले पराजित भए पनि राजनीति र सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील प्रदीपले मतदातामाझ राम्रो छवि बनाएका छन्। नेपालका युवा नेताहरूमध्येका इमान्दार नेता पौडेललाई आसन्न चुनावमा युवाहरुले राम्रो साथ दिने विश्वास गरिएको छ।
उनको प्रतिस्पर्धामा एमालेका ईश्वर पोखरेल, रास्वपाका सस्मित पोखरेल, उज्यालो नेपालका श्री गुरुङ, राप्रपाका कमल थापालगायत छन्। रास्वपाका पूर्वउम्मेदवारको बलियो साथ पाएका प्रदीपलाई जित सहज भएको दाबी गरिएको छ।
अरु उम्मेदवार भन्दा पौडेल वर्तमान राजनीतिक परिस्थिति र जेन-जी आन्दोलनको भावनासमेत समेटेर देश र जनताका पक्षमा काम गर्ने कुशल नेताका रूपमा परिचित छन्।












