एलआरआईले जित्याे प्रथम क्युकेएस अन्तर–विद्यालय क्रिकेटकाे उपाधि
शुक्रबार तल्लाे मुलापनी क्रिकेट मैदानमा भएकाे फाइनलमा वृहस्पति विद्या सदनलाई ४ विकेटले हराउँदै एलआरआई च्याम्पियन बनेकाे हाे।
काठमाडाैं, फागुन १५ : प्रथम क्युकेएस (QKS) अन्तर–विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि एलआरआई (LRI) स्कुलले जितेकाे छ। शुक्रबार तल्लाे मुलापनी क्रिकेट मैदानमा भएकाे फाइनलमा वृहस्पति विद्या सदनलाई ४ विकेटले हराउँदै एलआरआई च्याम्पियन बनेकाे हाे।
फाइनलमा ७१ रनकाे लक्ष्य एलआरआईले ९ ओभरमा ६ विकेटकाे क्षतिमा भेट्टायाे। उसका सुबोध सीले सर्वाधिक २४ रन बनाउँदा अंश डीले १८ रन बनाए।
त्यसअघि पहिले ब्याटिङ गरेको वृहस्पति विद्या सदनले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ७० रन बनायो। उसका प्रज्वल एले सर्वाधिक १६ रन जोडे। बलिङमा एलआरआईका स्योन एस र प्रशान्त एले समान २ विकेट लिए।
पहिलो सेमिफाइनल वृहस्पति विद्या सदनले संस्कृति इन्टरनेशनल स्कुललाई २१ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेकाे थियाे भने एलआरआईले त्रियोग हाई स्कुललाई सुपर ओभरमा हराएकाे थियाे।
फागुन ११ गतेबाट सुरु भएको यस प्रतियोगितामा कुल १२ टोली सहभागी थिए। उनीहरूलालाई ४ समूहमा विभाजन गरिएको थियो।
प्रतियोगितामा एलआरआई स्कुलका श्रेयस अवस्थी प्लेयर अफ द सिरिज बने भने उत्कृष्ट ब्याट्सम्यान संस्कृति इन्टरनेशनल स्कुलका देवांशजंग लामिछाने, उत्कृष्ट बलर एलआरआई स्कुलका श्रेयस अवस्थी भए।












