पूर्वअर्थमन्त्री डा.महतले सार्वजनिक गरे चुनावी प्रतिज्ञा–पत्र, अघि सारे नुवाकोट समृद्धिको आधार
‘यो भूमिबाट पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणको अभियान थालेका थिए, अब यही ऐतिहासिक पहिचानलाई आर्थिक र सामाजिक रूपान्तरणसँग जोड्दै नुवाकोटलाई नयाँ पहिचान दिने समय आएको छ,’ उनको प्रतिज्ञापत्रमा लेखिएको छ।
काठमाडौं, फागुन १२ : नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.प्रकाश शरण महतले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। उनले नुवाकोटलाई आर्थिक–सामाजिक रूपान्तरणको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार नुवाकोटको ढिकुरेमा रहेको सम्पर्क कार्यालयमा आयोजित प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा उनले आगामी निर्वाचनलाई नेपालको लोकतन्त्र, राजनीतिक स्थिरता र विकासको दिशासँग जोडिएको निर्णायक अवसरका रूपमा चित्रण गरे।
‘यो भूमिबाट पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणको अभियान थालेका थिए, अब यही ऐतिहासिक पहिचानलाई आर्थिक र सामाजिक रूपान्तरणसँग जोड्दै नुवाकोटलाई नयाँ पहिचान दिने समय आएको छ,’ उनको प्रतिज्ञापत्रमा लेखिएको छ।
महतले आफू कुराभन्दा काममा विश्वास गर्ने नेता भएको दाबी गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास र जनजीवन सुधारलाई आफ्नो प्राथमिकता बताए। पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेपनि यसअघि नै नुवाकोटको विकासमा योगदान दिएको उल्लेख गर्दै उनले मतदातासँग विश्वासलाई मतमा परिणत गर्न अपिल गरे।
उनले नुवाकोटलाई बागमती प्रदेशभित्र रणनीतिक जिल्लाका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको बताए ।प्रतिज्ञापत्रमा नुवाकोटको विकासको आधार पूर्वाधार विस्तारलाई बनाइएको छ ।
टोखा–छहरे सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाउने, बालाजु–रानीपौवा–पिपलटार सडकको बाँकी खण्ड पूरा गर्ने, ढिकुरे–समुन्द्रटार–गोल्फुभञ्ज्याङ सडक सम्पन्न गर्ने, तिनपिप्ले–चाउँथे–कुमरी–गल्छी वैकल्पिक मार्ग निर्माण पूरा गर्ने मुख्य योजनाहरूमा राखिएको छ।
यसबाहेक पालिकास्तरका सडक, पुल, सिंचाइ र खानेपानी व्यवस्थालाई प्राथमिकतामा राखिएको छ । लिखु र तादी नदी कटान नियन्त्रण गर्दै सिंचाइ विस्तार गर्ने योजना पनि उनले अघि सारेका छन्।
पूर्वअर्थ मन्त्री समेत रहेका डा. महतको प्रतिज्ञा पत्रमा नुवाकोटको समृद्धिको आधार कृषि भएको उल्लेख गर्दै आधुनिक सिंचाइ, मल, बीउ र बजार पहुँच सुनिश्चित गर्ने उल्लेख गरिएको छ।
स्थानीय उत्पादन—स्ट्रबेरी, ट्राउट माछा, आलु, किवी, कफी लगायतलाई ब्राण्डिङ गर्दै प्रशोधन उद्योगसँग जोड्ने, शीतभण्डार निर्माण गर्ने र बजार मूल्य सुनिश्चित गर्ने योजना उनले सार्वजनिक गरे।
किसानलाई बाँदर, बँदेल, दुम्सी र मृगबाट हुने क्षति रोक्न नीतिगत समाधान खोजिने पनि उनले बताए। प्रतिज्ञापत्रमा ककनी, चिसापानी, सूइरेचौर, पञ्चकन्या लगायत क्षेत्रलाई पर्यटन केन्द्र बनाउने गुरुयोजना बनाउने उल्लेख छ।
महिला सशक्तिकरण, स्वरोजगार, खेलकूद पूर्वाधार र युवा क्षमता विकासमा पनि योजनाबद्ध पहल गरिने उल्लेख गरिएको छ। महतले विकास कुनै दलको नभई जनताको साझा अभियान भएको उल्लेख गर्दै स्थानीय सरकार, निजी क्षेत्र, सहकारी र समुदायलाई एउटै लक्ष्यमा जोड्ने बताइएको छ।












