Kathmandu Press

प्रतिनिधिसभा निर्वाचनः डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

जेनजी आन्दोलनमा देउवा दम्पत्तिमाथिको आक्रमण, त्यसपछि पार्टी सभापति नहुनुलगायत विषयले देउवाको गृहजिल्ला डडेल्धुरामा निर्वाचन आफ्नो पक्षमा पार्न पार्टीलाई चुनौती थपिएको जानकारहरू बताउँछन् ।
प्रतिनिधिसभा निर्वाचनः डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

डडेल्धुरा, माघ २९ : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा नेपाली कांग्रेस जुटेको छ। विसं २०४८ देखि कांग्रेसले लगातार जित्दै आएको डडेल्धुरामा यस पटकको पूर्वसभापति शेरबहादुर देउवा उम्मेदवार नहुँदा गढ जोगाउन प्रयासमा कांग्रेस जुटेको हो।

विसं २०७९ सम्म सात पटक यहाँबाट निर्वाचित हुँदै मुलुकको कार्यकारी पद प्रधानमन्त्रीदेखि कांग्रेसको सभापति भएका पूर्वसभापति देउवा आसन्न निर्वाचनको दौडमा नहुँदा निर्वाचनको मैदानमा रहेका प्रतिस्पर्धी आ–आफ्नो पक्षमा नतिजा पार्न सक्रिय भएका छन्। 

कांग्रेसका युवानेता नैनसिंह महरले मतदाताको मन जित्ने र जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै आएका छन्। जेनजी आन्दोलनमा देउवा दम्पत्तिमाथिको आक्रमण, त्यसपछि पार्टी सभापति नहुनुलगायत विषयले देउवाको गृहजिल्ला डडेल्धुरामा निर्वाचन आफ्नो पक्षमा पार्न पार्टीलाई चुनौती थपिएको जानकारहरू बताउँछन् ।

Hardik ivf

नेपाल विद्यार्थी संघको केन्द्रीय सभापतिसमेत भइसकेका हालका उम्मेदवार महरलाई देउवाले लगातार जित्दै आएको डडेल्धुरामा कांग्रेसको विजयी यात्रालाई निरन्तरता दिनुपर्ने चुनौती छ।

कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले निर्वतमान सभापति देउवा स्वास्थ्य समस्याका कारण यहाँ आउन नसकेको बताए। 

त्यसैगरी एमालेबाट चक्र स्नेही पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन्। विसं २०७४ मा राष्ट्रियसभा सदस्य भइसक्नुभएका स्नेही विद्यार्थी जीवनदेखि एमालेको राजनीतिमा सक्रिय छन्। विसं २०७० को संविधानसभा निर्वाचनका बेला एमालेबाट डा. तारा जोशी उम्मेदवार बनेका थिए। 
    
एमालेका जिल्ला अध्यक्ष गजेन्द्र शाहीले सिंगो पार्टीपङ्क्ती चुनावी मैदानमा सक्रिय रहेको बताए। ‘एमालेले राष्ट्र, राष्ट्रियता र विकासको पक्षमा गरेको काम गर्ने पार्टी भएकाले विजयी हुने विश्वास छ,’ उनले भने।

कूल ९३ हजार ४०३ मतदाता रहेको डडेल्धुरामा १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। विसं २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा विजयी भएका जोशीको अहिले रास्वपाबाट उम्मेदवारी परेको छ। निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा हुने देखिन्छ। 

नेपाली कम्युनिष्ट पार्टीले यहाँ मानसिंह माललाई चुनावी मैदानमा उतारेको छ। ‘डडेल्धुरामा सम्भावना थुप्रै छन्, जिल्लालाई शिक्षा र स्वास्थ्यको हब बनाउन सकिने सम्भावना छ,’ चुनावी घरदैलोमा मालले भने, ‘मुलुकमा युवाको माग भइरहेको छ। म युवा पनि हुँ, पहिलो पटक जनमतका लागि घरदैलोमा छु। सहयोगको अपेक्षा छ।’ 

विसं २०७९ मा सातौ पटक विजयी हुँदा यहाँ देउवाले २५ हजार ५३४ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याएका थिए। 

प्रतिनिधिसभातर्फ एकमात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा कूल ९३ हजार ४०३ मतदाता छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ९१ हजार २०१ मतदाता थिए। 

मतदाता वृद्धि भएसँगै मतदान संरचनामा पनि विस्तार गरिएको छ। यसपटक जिल्लामा १०४ मतदानस्थल र १४१ मतदान केन्द्र कायम गरिएका जनाउँदै उहाँले तीमध्ये ३३ मतदानस्थल ‘अतिसंवेदनशील’को सूचीमा राखिएको उल्लेख गरे। 

रास्वपाका उम्मेदवार डा. ताराप्रसाद जोशी पनि चुनावी मैदानमा सक्रिय  छन्। एमाले, एकीकृत समाजवादी, स्वतन्त्र, उज्यालो नेपाल पार्टी हुँदै अहिले रास्वपामा पुगेका जोशी डडेल्धुरामा तेस्रो पटक घरदैलो अभियानमा जुटेका छन्। 

उनले सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको बताए। ‘नयाँको भावना र पुरानाको अनुभव आजको आवश्यकता हो,’ उनले भने, ‘म त्यो कुरालाई प्रतिनिधित्व गर्छु, राष्ट्र निर्माणका लागि स्पष्ट मार्गचित्र मसँग छ।’

यहाँ, राप्रपाबाट गोविन्द खडायत, आम जनता पार्टीबाट खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाबाट चन्द्र विक, श्रम संस्कृति पार्टीबाट महेन्द्र पुनमगर, जय मातृभूमि पार्टीबाट लक्ष्मीदत्त भट्ट, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज भट्ट, स्वतन्त्रबाट सुरेन्द्र रावल, तीर्थराज उप्रेती र गौरवबहादुर ऐर उम्मेदवार भएका छन्।

 करिब ३४ वर्षपछि पहिलो पटक डडेल्धुराका मतदाताले कांग्रेसबाट देउवाबाहेकका उम्मेदवारलाई मतदान गर्नेछन्। 

प्रकाशित मिति: १८:४० बजे, बिहीबार, माघ २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्