कांग्रेसलाई इतिहासले दिएको अन्तिम मौका
कांग्रेसको गौरव, लोतान्त्रिक राजनीतिक प्रणाली अनुकुलको आचारण, नैतिकता र विवेकपूर्ण ढंगले पार्टीको आन्तरिक एकता बलियो भए मात्र मुलुकको राजनीतिमा देखिएका समस्याहरुको सामना गर्दै मुलुकलाई सहि ढंगले लोकतन्त्रको बाटोमा डोहोर्याउने हैषियत रहन्छ।
ऐतिहासिक एवम् गौरवले भरिएको नेपाली कांग्रेस यतिबेला संकटको डिलमा उभिएको छ । दिवंगत महानायक विपी कोइरालाको आदर्श, लौहपुरुष गणेशमान सिंहको निष्ठा, सन्त नेता किशुनजीको त्याग, सुवर्णसमशेरको समर्पण, गिरिजाबाबुको साहस अनि सुशील कोइरालाको सदाचारको आलोकमा उभिएको पार्टी आज नियतीले आफ्नै विरासत जोगाउन संघर्ष गरिरहेको छ।
अग्रजहरुले देखाएको बाटो, समर्पण र संघर्षपूर्ण जिवनगाथा काँग्रेसले बिर्सेको प्रतित भइरहेको छ। दुःखका साथ भन्नुपर्छ, लोकतन्त्रको आलोकमा कांग्रेसले अँगालेको आदर्श र मान्यताले मात्र मुलुकलाई उज्यालोको यात्रामा अघि बढाउने छ भन्ने विश्वास टुट्ने अवस्था आइपरेको छ। यो कुरामा सन्देह छैन की, कांग्रेसमा एकता र मिलाप भए पार्टीलाई पुरानो पुस्ताको अनुभव र नव युवाको उर्जाले गतिशिल बनाउन संभव छ। लामो जेल यातना, प्रवासको दुःख कष्ट, शारिरिक, मानसिक यातना व्यहोर्दै अग्रजहरुले कांग्रेस पार्टी स्थापना गरेका हुन्।
पञ्चायतको कालरात्रीका ति कठिन दिनहरुमा अनेक प्रताडना खेप्दै नौजवानहरुको रगत र पसिनाले सिंचिएको पार्टी हो, कांग्रेस। लोकतान्त्रिक प्रणाली कांग्रेसले नै हुर्काएको बिरुवा हो। कांग्रेसले हिजोको बलिदानीपूर्ण संघर्ष र त्यागले देशमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना सफल भएको कुरा ठण्डा दिमागले फेरी एकपल्ट पुनःस्मरण गर्न जरुरी छ।
कांग्रेसको गौरव, लोतान्त्रिक राजनीतिक प्रणाली अनुकुलको आचारण, नैतिकता र विवेकपूर्ण ढंगले पार्टीको आन्तरिक एकता बलियो भए मात्र मुलुकको राजनीतिमा देखिएका समस्याहरुको सामना गर्दै मुलुकलाई सहि ढंगले लोकतन्त्रको बाटोमा डोहोर्याउने हैषियत रहन्छ। हाल नेतृत्वमा रहेकाहरुबाट अग्रजले देखाएको बाटोमा काँग्रेसलाई अविचलित अगाडी लैजानुपर्ने जिम्मेवारी हो।
खासगरी जेनजी आन्दोलनपछि उत्पन्न नयाँ परिस्थितिको सामना गर्दै राजनीतिलाई समालेर अघि बढ्नुपर्ने जटील अवस्था छ । यस्तो जटील अवस्थामा पार्टीभित्र बेमेलको सट्टा सहमती, सहकार्य र एकताकै बलमा संगठित भएर अघि बढ्नु नै बुद्धिमानी हो। यो बाहेक अर्को विकल्प छैन । तर एकातिर समय यसै पनि प्रतिकुल छ।
अफ्ठ्यारो बेला परिस्थितिसँग जुध्दै एकगठ भएर अघि बढ्नुपर्नेमा जुँगाको लडाईंमा फस्नु लोकलज्जाको बिषय हो । यस्तो वैमनस्य, झगडा, आरोपप्रत्यारोप फस्ने कुराले कांग्रेसको अस्तित्व नै खतरामा पर्ने जोखिम आँखै सामुन्ने छ।
कांग्रेसको ऐतिहासिक गरिमालाई अक्षुण्ण राख्दै मेलमिलापमार्फत अबसरमा बदल्ने कि, अस्तित्व नै खरानी बनाउने रु नेतृत्वमा रहनेहरु आज प्रश्नको घेरामा छन् । कांग्रेसलाई पुरानै अबस्थामा फर्काएर मुलुकको प्रमुख पार्टी बनाउने र आगामी आमनिर्बाचनमा भारी मत जुटाउने हो भने एकता बाहेक अर्को विकल्प छैन। यसका लागि पार्टी हित बाहेकका अरु सबै स्वार्थ र ढीपी त्याग्नु जरुरी छ।
सहमति, सहकार्य र एकताको भावना भए मात्र पार्टी दिगो हुन्छ । बलियो र सुदृढ काँग्रेसले मात्र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सक्दछ । कांग्रेससँग जोश, जाँगर र उर्जाले भरिपूर्ण लाखौं कार्यकर्ताको तागत छ । यी तागत नै शक्तिको अजय स्रोत हुन् । नेताहरुले नीजि स्वार्थ र गुटको भावना त्याग गर्नासाथ देशभरीका उर्जाशिल कार्यकर्ताको बलमा पार्टी निर्विकल्प बन्न बेर लाग्दैन । बरु उनीहरुको आत्मसम्मानका लागि नेताहरुमा समर्पण चाहिएको छ।
अब उप्रान्त विगतका कमीकमजोरीको आत्म समिक्षासहित अघि बढ्नुपर्ने छ । त्याग गर्नुपर्ने ठाउँमा त्यागको भावना पनि जरुर चाहिएला । स्वच्छ आलोचना, टिप्पणी, खवरदारी एवम् सुझावलाई शिरोपर गर्न सबै पक्ष तयार हुनैपर्छ। यसो भएमा पुरानै लयमा फर्कने आधार जुट्ने छ। कांग्रेसलाई यतिबेला महिला, दलित, आदिवासी, जनजाति, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अपांगता भएका व्यक्ति सबैले एकजुट हुन खवरदारीका औंला ठड्याइरहेका छन् । मुलुकको गिजोलिएको राजनीति काँग्रेस एक हुँदा मात्र समालिन सक्दछ।
राष्ट्रिय संकटका बेला आमसहमतिको निर्माण गर्न सक्दछ। यतिबेला हिमाल, पहाड, तराई, मधेशबाट बलियो, सुदृढ र एकताबद्ध काँग्रेसको आवाज उठिरहेको छ। यस्तो उत्कट अभिलाषामाथि मट्टीतेल छर्किने कार्य कुनै पक्षबाट नहोस्। कांग्रेस मिलापका लागि एउटा रात नै संभवतः अन्तिम मौका हुनसक्छ। भोलि के हुन्छ, भन्न सकिन्न। पछुताएर सच्चिनका लागि त्यतिबेला परिस्थिति सायद काबुमा नरहन सक्छ। देशभरका कार्यकर्ताहरुको आड र भरोसा दिएर आशाको सञ्चार गर्दै कांग्रेस पूर्ण सामथ्र्यका साथ एकसाथ चुनावमा होमियोस्। र, आजको कठिन दिनमा दिनमा निरङकुशताविरुद्धको संघर्षमा कांग्रेसका तेस्रो पुस्तासम्मको रगत र पसिना सिंचिंत भएको वास्तविकता पनि स्मरण गरोस्।












