लुटिएका हतियार र जेलबाट फरार कैदीवन्दीका कारण चुनाव विथोलिँदैन : गृहमन्त्री
‘फरार कैदीबन्दी फिर्ता ल्याउने र लुटिएका हतियार बरामद गर्ने क्रम पछिल्लो दिनमा वृद्धि भएको छ। फरार कैदीबन्दी र बाहिर रहेका हतियारको कारणले चुनाव बिथोलिँदैन,’ उनले भने।
कैलाली, मंसिर १६ : गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा जेलबाट फरार कैदीबन्दी र लुटिएका हतियारका कारण चुनाव नबिथोलिने बताएका छन्।
गृह मन्त्रालयले मंगलबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले उक्त भनाई राखेका हुन्।
अर्यालले फरार कैदीबन्दी पक्राउ गर्ने र लुटिएका हतियार बरामद गर्ने क्रम जारी रहेको पनि बताए। फरार कैदीबन्दी र लुटिएका हतियार चुनावसम्म नियन्त्रणमा लिइसक्ने दाबी गृहमन्त्री अर्यालको छ।
‘फरार कैदीबन्दी फिर्ता ल्याउने र लुटिएका हतियार बरामद गर्ने क्रम पछिल्लो दिनमा वृद्धि भएको छ। फरार कैदीबन्दी र बाहिर रहेका हतियारको कारणले चुनाव बिथोलिँदैन,’ उनले भने, ‘यो कारणले निर्वाचन नै बिथोलिने हामीले हुन दिदैनौँ। तीनलाई हामीले फिर्ता ल्याएरै छाड्छौँ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
जेनजी आन्दोलनकाक्रममा कारागारबाट भागेका चार हजार ५५२ कैदीबन्दी र बालबन्दी फिर्ता हुन बाँकी रहेको जानकारी पनि उनले दिए। फरार अवस्थामा रहेका कैदीबन्दीलाई पक्राउ गर्न विशेष रुपमा अभियान चलाइरहेको समेत उनले बताए । लुटिएका हतियारमध्ये अहिलेसम्म ७२७ थान बरामद गरेर फिर्ता गरिसकेको पनि उनले बताए।
अर्यालले अन्तरिम सरकारको म्यान्डेड नै चुनाव गराउने रहेको बताउँदै त्यसका लागि शान्ति सुरक्षा दिनुपर्ने भन्दै अहिंसात्मक र शान्तिपूर्ण रुपमा हुने राजनीतिक गतिविधिलाई नेपाल सरकारले सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाए।












-(7)-1765197040.jpg)