पूर्वगृहसचिव दुवाडीको दाबी– आत्मरक्षा र हातहतियारको रक्षा गर्न गोली चलाउनुपर्ने बाध्यता थियो
दुवाडीले शान्तिपूर्ण भेलाको अनुमति लिएर आएका प्रदर्शनकारी सरकारी र सार्वजनिक क्षेत्रमा प्रवेश गरेपछि सुरक्षाकर्मीका हातहतियार र गोलाबारुदको सुरक्षामा खतरा उत्पन्न भएको दाबी समेत उनले गरेका छन्।
काठमाडौं, मंसिर १५ : पूर्वगृहसचिव गोकर्णमणी दुवाडीले जेनजी आन्दोलनकाक्रममा भदौ २३ गतेको घटनामा सुरक्षा बलले आफ्नो र हातहतियारको सुरक्षाका लागि बल प्रयोग गर्नुपरेको जबाफ सर्वोच्च अदालतलाई पठाएका छन्।
भदौ २३ गतेको घटनामा कारबाहीका लागि आदेशको माग गर्दै दायर भएको रिटमा तत्कालिन गृहसचिव दुवाडीले सर्वोच्चमा यस्तो जबाफ पठाएका हुन् । उनल शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मीले कानून बमोजिम आत्मरक्षा, हातहतियारको रक्षा गर्न सुरक्षा उपाय अपनाउनैपर्ने जिकिर लिएका छन्।
सर्वोच्चमा दायर रिट निवेदनमा उनलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउन माग गरिएको छ। निवेदकहरूले जेनजी घटनामा अत्यधिक बल प्रयोग भएको र त्यसको जिम्मेवारी तत्कालीन गृहसचिवले लिनुपर्ने बताएका छन्।
‘उक्त मितिमा सुरक्षा सम्बेदनशीलताको आधारमा आत्मरक्षा, हातहियार रक्षा तथा सार्वजनिक सम्पत्तिको रक्षा र संरक्षण गर्नुपर्ने अवस्था आएको परिस्थितिले देखाउँछ,’ दुवाडीले लिखित जवाफमा भनेका छन्।
दुवाडीले शान्तिपूर्ण भेलाको अनुमति लिएर आएका प्रदर्शनकारी सरकारी र सार्वजनिक क्षेत्रमा प्रवेश गरेपछि सुरक्षाकर्मीका हातहतियार र गोलाबारुदको सुरक्षामा खतरा उत्पन्न भएको दाबी समेत उनले गरेका छन्।
आन्दोलनकारी संसद भवनको परिसरभित्र प्रवेश गर्ने स्थिति देखिएपछि शान्ति सुरक्षा, सरकारी सम्पत्ति र सुरक्षाकर्मीको जीवन तथा हतियार संरक्षण गर्नुपर्ने आवश्यकता आइपरेको उनको जवाफमा उल्लेख छ । साथै, सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी पूरा गरेकोमा कसैलाई कारबाही गर्न माग गर्नु अनुचित भएको भन्दै रिट खारेजीको माग गरेका छन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले जेनजी घटनाको अनुसन्धान गर्दै शुरुमा काठमाडौं उपत्यकाबाहिर नजान स्थान हद तोकिए पनि पछि फिर्ता लिइएको थियो।












-(7)-1765197040.jpg)