कांग्रेस १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

काठमाडौं, मंसिर १५ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५ औँ महाधिवेशनका लागि आवश्यक कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको छ।
बैठकपछि पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिँदै महाधिवेशन आगामी २०८२ पुस २६, २७ र २८ गते गर्ने निर्णय भएको बताए।
उनका अनुसार बैठकले पार्टी संरचना सुदृढिकरण तथा महाधिवेशन तयारीका विषयमा विस्तृत छलफल गरेको थियो ।
‘बैठकले लामो छलफलपछि १५ औँ महाधिवेशनका सन्दर्भमा महत्वपूर्ण निर्णयहरू गरेको छ। कांग्रेसको १५ औँ महाधिवेशन २०८२ पुस २६,२७ र २८ गते हुनेगरि प्रस्तावित कार्यतालिका केन्द्रीय समितिमा पेस गरिएको थियो र त्यो सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ,’महतले भने।
बैठकले मंसिर २० गतेभित्रै पुराना तथा नयाँ क्रियाशील सदस्य वितरणको काम केन्द्रीय कार्यालयमार्फत सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै, पुस ८ गतेसम्म सबै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता सम्बन्धी कार्य पूरा गर्ने निर्णय पनि गरिएको छ।
कांग्रेसले महाधिवेशन तयारीलाई संगठन सुदृढिकरणसँग जोडेर आगामी दिनमा आवश्यक प्रक्रिया द्रुत गतिमा अघि बढाउने जनाएको छ।












-(7)-1765197040.jpg)