किन मि टू अभियानले नेपालमा खासै तरङ्ग ल्याएन ?
काठमाडौं, फागुन २४ : आज विश्वले अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा मि टू अभियान फेरि एकपटक चर्चामा आयो ।
खासगरी हलिउडबाट सुरु भएको यो अभिया....

काठमाडौं, फागुन २४ : आज विश्वले अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा मि टू अभियान फेरि एकपटक चर्चामा आयो ।
खासगरी हलिउडबाट सुरु भएको यो अभियानका कारण अमेरिका र भारतलगायतका देशमा धेरै महिलाले वर्षौअघि भोगेका वा वर्षौदेखि भोग्दै आएका हिंसा, ज्यादति र शोषणका घटना बाहिर ल्याउने साहस प्राप्त गरेका छन् । ती घटनामा मुछिएका धेरै शक्तिशाली पुरुषहरूले जागिरबाट हात धुनुपरेको छ । कति जेलमै छन् ।
तर, नेपालमा मि टू अभियानले खासै ठूला तरङ्गहरू ल्याउन सकेन । एकाध महिलाले आफूविरुद्ध भएका ज्यादति विरुद्ध सार्वजनिक रुपमा बोले । तर, उनीहरूले औंला ठड्याएका पुरुषहरूलाई खासै प्रभाव परेन ।
आखिर किन नेपालमा मि टू अभियानले गति लिन सकेन र यसको गन्तव्य के हो ? यस विषयमा काठमाडौं प्रेसले आ–आफ्ना क्षेत्रमा स्थापित भएका चार महिलाको विचार बुझेको छ ।

मोहना अन्सारी, सदस्य, राष्ट्रिय मानवअधिकार आयोग
नेपाली समाजमा हिंसालाई नियतिको रुपमा लिने चलन छ । यसविरुद्ध बोल्नुपर्छ भन्ने संस्कृतिको विकास भइसकेको छैन । हिंसालाई लैङ्गिक अवधारण भन्दा पर राखेर त्यसविरुद्ध बोल्नु हरेक महिलाको मर्यादा हो र हरेक पुरुषले यसलाई समर्थन गर्नुपर्दछ भन्ने सोचको विकास हुनु जरुरी छ ।
लैङ्गिक हिंसाको अभियानलाई व्यापक रुपमा अघि बढाउन सुरुमा त यसबारे बुझाउन जरुरी छ । किन हामी हिंसा र अन्यायविरुद्ध बोल्नुपर्छ भन्ने ज्ञान सबै महिला र पुरुषमा हुनु जरुरी छ । जसले गर्दा महिला हिंसाविरुद्ध आवाज उठाएपछि असुरक्षित महसुस गर्न नपरोस् । समाजले कस्तो नजरले हेर्ने हो या दोषीले नै केही कदम चाल्ने हो कि भन्ने डरका कारण आवाज गुम्सिन नपाओस् ।
मि टूको प्रभाव अन्तर्राष्ट्रिय रुपमा जसरी परेको छ, त्यो हाम्रो समाजमा हुन अझै समय लाग्छ । किनभने, यहाँ दुर्व्यवहारको विषय कानुनी रुपमै बल्ल आएर मात्रै सम्बोधन भएको छ । हामी बिस्तारै अघि बढ्दै छौँ ।

बबिता बस्नेत, पत्रकार
मिटू अभियान सान्दर्भिक र जरुरी छ । तर पनि यो मुद्दामा धेरै महिलाले खुलेर बोल्न सकेका छैनन् । किनकि, हाम्रो समाज एकदमै साँघुरो छ । समाजले केही भन्ला कि भन्ने डरले कति महिलाहरु बोल्न सकिरहेका छैनन् । कतिलाई मैले बोलेर के हुन्छ र भन्ने पनि लाग्छ । तर, अन्याय विरुद्ध बोल्ने काम आफैबाट सुरु गर्नुपर्छ ।

विदुषि ढुंगेल, अभियन्ता
मि टू अभियान एकदमै जरुरी थियो र छ । तर, यसले कति गति लिन सक्छ भन्ने चाहिँ अलि गाह्रो छ ।
हाम्रो समाजमा ठूलो पदमा भएको व्यक्ति दोषी भए पनि ऊविरुद्ध बोल्न कोही चाहँदैन । र, हामी आफै पनि यस्ता कुरालाई हल्का रुपमा लिन्छौँ, जसकारण महिला स्वयं आफूमाथि भएका शोषण र दुव्र्यवहारविरुद्ध बोल्न हिच्किचाइरहेका छन् ।
कतिपय अवस्थामा हामी महिला स्वयं महिलाको शत्रु बनिरहेका छौँ ।त्यसैले, हामीले आफ्नो सोंच बदल्नु पर्छ । समाजले पनि महिलाको आवाजलाई सम्बोधन गर्न सक्नुपर्छ ।

कमला पन्थी, उपाध्यक्ष, सञ्चारिका समूह
हामी पितृसत्तात्मक समाजमै हुर्किरहेका छौँ । आज सम्म पनि महिलालाई हेर्ने नजर परिवर्तन हुन सकेको छैन । पुरुषले मात्रै होइन, महिलाले पनि आफ्नो सोच बदल्न जरुरी छ ।
नेपालमा मिटू अभियानले खासै व्यापक रुप लिन सकेको छैन । किनकि, हामीमा एउटा डर छ – कतै हामी आफै त यसमा पर्दैनौं भन्ने । धेरै पुरुषहरू सोच्दा हुन् – हामी कोही चोखो छैनौँ, कुनै न कुनै बेला हामीले पनि गल्ती गरेको हुनुपर्छ र त्यो गल्ती बाहिर आउन सक्छ । यसैले, उनीहरू बाहिर नआवोस भन्ने डर नै हो जसका कारण यसको समर्थन व्यापक भएको छैन ।












-(7)-1765197040.jpg)