Kathmandu Press

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

उनीहरुको मुद्दा न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको ३ नं इजलाशमा परेको थियो। तर, रविका कानून व्यवसायीले आजको सुनुवाइ स्थगित गरीपाउँ भनी निवेदन दिएका कारण सुनुवाइ स्थगित भएको हो।
रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

रुपन्देही, मंसिर ११ : रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ।

उनीहरुको मुद्दा न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको ३ नं इजलाशमा परेको थियो। तर, रविका कानून व्यवसायीले आजको सुनुवाइ स्थगित गरीपाउँ भनी निवेदन दिएका कारण सुनुवाइ स्थगित भएको हो।

बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै रास्वपा सभापति रवि लामिछानेले जिल्ला अदालतको आदेशमा चित्त नबुझी उच्चमा निवेदन दिएका थिए।

यसअघि अघिल्लो बिहीबार पाटन उच्च अदालतमा पनि पेशी परेकाले रविका कानून व्यवसायीका तर्फबाट बुटवल इजलासको सुनुवाइ स्थगित भएको थियो।

कात्तिक २७ गते भएको सुनुवाइमा न्यायाधीशहरू वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेको मुल अभियोगको मिसिल मगाउने आदेश दिएको थियो । मुल मुद्दाको सक्कल मिसिल प्राप्त भएपछि अघिल्लो बिहीबारका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित भएको थियो।

त्यसअघि कात्तिक २० गतेको सुनुवाइमा पनि न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो । सर्वोच्चबाट सुरु मिसिलको फाइल प्राप्त नभए पनि जिल्ला अदालतबाट प्रतिलिपि आएको छ ।

सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोग पत्र दायर गरिएको छ । लामिछानेले त्यसको चार भागमध्ये आफ्नो हिस्साको एक भाग बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा पेस गरेका थिए ।

हाल लामिछाने ललितपुरको नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा छन्। 

प्रकाशित मिति: १२:२९ बजे, बिहीबार, मंसिर ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्