Kathmandu Press

यलुङ रि हिमपहिरोमा पाँच जना अझै बेपत्ता, खोजीकार्य स्थगित

खोज तथा उद्धार टोलीका कमाण्डर पासाङ किदर शेर्पाका अनुसार अब हिउँ निकै कडा भएको र त्यसलाई खन्न असम्भव देखिएकाले हाललाई खोजीकार्य स्थगित गर्ने निर्णय गरिएको हो।
यलुङ रि हिमपहिरोमा पाँच जना अझै बेपत्ता, खोजीकार्य स्थगित

रामेछाप, कात्तिक २३ : दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा गत सोमबार परेको हिमपहिरोमा बेपत्ता भएका आरोहीहरूको खोजीकार्य स्थगित गरिएको छ। 

बेपत्ता सातजनामध्ये दुई जनाको मात्र शव फेला परेको छ भने बाँकी पाँच जनाको अवस्था अझै अज्ञात रहेको छ।

खोज तथा उद्धार टोलीका कमाण्डर पासाङ किदर शेर्पाका अनुसार अब हिउँ निकै कडा भएको र त्यसलाई खन्न असम्भव देखिएकाले हाललाई खोजीकार्य स्थगित गर्ने निर्णय गरिएको हो। दुई नेपालीसहित पाँच जना हिमपहिरोमा पुरिएर हराइरहेका छन्, अब उनीहरु जिवित रहने सम्भावना छैन। 

Hardik ivf

खोजीको क्रममा भेटिएका दुई शवमध्ये एक फ्रान्सका मेनफेडी क्रिस्टिना एन्ड्रे र अर्को इटलीका पाउलो कोको रहेको पुष्टि भएको छ। हराएकाको यो सिजनमा खोजी सम्भव नभएको उद्धार टोलीले जनाएको छ। 

गत कात्तिक ११ गते दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रोल्वालिङ क्षेत्रमा पर्ने ५ हजार ६ सय ३० मिटर उचाइको यलुङ रि हिमाल आरोहणका लागि गाइड र आरोही गरी १५ जनाको समूह पुगेको थियो । कात्तिक १७ गते बिहान ४ बजे बेसक्याम्पबाट चुचुरोतर्फ प्रस्थान गरेका उनीहरू करिब ८ बजे शिखर नजिकै पुग्दा आकस्मिक हिमपहिरोमा परेका थिए।

सोही दिनदेखि हराएका सात जनामध्ये मंगलबारबाट सुरु गरिएको खोज तथा उद्धार अभियानले आठ जनाको सकुशल उद्धार गरेको थियो। खोजीका क्रममा दुई विदेशीको शव फेला पारिएको भए पनि पाँच जनाको अवस्था अझै अज्ञात छ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनबाट पासाङ किदर शेर्पा, रितन जाङ्बु शेर्पा, छिरिङ सोनाम लामा, पासाङ तेन्वा शेर्पा, ड्रिम डेस्टिनेसनका फुर्वा तेन्जी शेर्पा र सिम्रिक एयरका दुई विदेशीसहित नौं सदस्यीय टोली खोजीका लागि खटिएको थियो।

दोलखाका प्रहरी प्रमुख प्रहरी ज्ञानकुमार महतोका अनुसार खोजी टोलीले कठिन मौसमका कारण अहिले खोज कार्य स्थगित हुने निर्णय गरेको छ। यो सिजनमा खोजी सम्भव नदेखिएकाले टोली फर्कन लागेको उनले जानकारी  दिए। 

खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली समेत सहभागी थियो। तर, भीषण हिमपात र उच्च जोखिमका कारण ती टोलीहरू पनि घटनास्थलसम्म पुग्न कठिनाइ भएको थियो। सुरक्षा टोली गाउँसम्म पुग्न सकेपनि त्यसभन्दा माथिल्लो क्षेत्रमा बाक्लो हिमपातका कारण टोली अघि बढ्न सकेन।

गौरीशङ्कर संरक्षण क्षेत्रअन्तर्गत पर्ने यो हिमाल आरोहणका लागि पछिल्ला वर्षमा विदेशी आरोहीहरू आकर्षित हुँदै आएका छन्। तर, यलुङ रि क्षेत्र हाल भारी हिमपात र अस्थिर मौसमका कारण अति जोखिमपूर्ण मानिन्छ।
 

प्रकाशित मिति: १२:४८ बजे, आइतबार, कात्तिक २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्