Kathmandu Press

सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी : ओली

‘असंवैधानिक सरकार, कुनै संविधानले नगर्नु भनेको ठाउँमा प्रधानन्यायाधीश प्रधानमन्त्री हुन मिल्दैन। मानव अधिकार आयोगबाहेक कुनै पनि जागिरमा पूर्व प्रधानन्यायाधीश जान मिल्दैन। तर जानीजानी संविधान मिचेर प्रधानमन्त्री बनेको यो सरकार प्रष्ट रूपमा प्रतिगामी हो,’ उनले भने।
सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी : ओली

काठमाडौं, कात्तिक २१ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई असंवैधानिक र प्रतिगामी भएको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित देशको समसामयिक विषयमा पार्टी अध्यक्षसँगको विद्धत् वर्ग अन्तरसंवाद कार्यक्रममा बोल्दै ओलीले संविधानले अनुमति नदिएको पदमा पुगेको भन्दै वर्तमान सरकारको आलोचना गरे।

‘असंवैधानिक सरकार, कुनै संविधानले नगर्नु भनेको ठाउँमा प्रधानन्यायाधीश प्रधानमन्त्री हुन मिल्दैन। मानव अधिकार आयोगबाहेक कुनै पनि जागिरमा पूर्व प्रधानन्यायाधीश जान मिल्दैन। तर जानीजानी संविधान मिचेर प्रधानमन्त्री बनेको यो सरकार प्रष्ट रूपमा प्रतिगामी हो,’ उनले भने।

ओलीले सरकार ‘हाहाको भरमा बनेको’ भन्दै व्यंग्य पनि गरे। उनले भने, ‘शासनमा डिस्कर्डबाट पुगेको अरे! दुनियाँको कुनै सभ्य समाजमा डिस्कर्डबाट प्रधानमन्त्री बन्छ? २–३ हजार केटाकेटीहरू डिस्कर्डमा जम्मा भएर भोटिङ गरेको रे! कसले गन्यो त्यो? मतपत्र कस्तो थियो? रेजा लगायो कि प्वाल पा¥यो अमेरिकामा जस्तो ? यस्तो हावाको भरमा बनेको सरकार हो यो।’

त्यसैगरी, ओलीले पार्टीभित्रका असन्तुष्ट प्रवृत्तिमाथि पनि कटाक्ष गरे। उनले कोही संस्था छोड्ने, कोही पार्टी छोड्ने, नेतालाई गाली गर्ने काम प्रतिक्रियावादीहरूले गर्ने गरेको बताए। 

‘कोही संस्था छोड्ने, कोही पार्टी छोड्ने, नेतालाई गाली गर्ने काम प्रतिक्रयावादीहरुले आफ्नो पार्टीलाई गाली गर्छन् र छोड्छन्। यति सेन्टीमेण्टल नहुनुपथ्र्यो। तर कोही कोही मान्छे भएको देखियो। यस्तो चाँडो तात्ने र सेलाउने आल्मोनियम पनि गर्दैन,’ उनले भने, ‘आल्मोनियमभन्दा पनि पातलो आल्मोनियम जस्तो छिट्टै तात्ने, छिट्टै सेलाउने हामीले गर्नु हुँदैन। हामी एउटा महान उदेश्य लिएर जन्मिएका हौं। हाम्रो आन्दोलन,हाम्रो पार्टी महान आन्दोलन लिएर जन्मिएको हो।’

ओलीले एमालेलाई महान आन्दोलनबाट जन्मिएको पार्टी भन्दै संगठनभित्र अनुशासन र धैर्यको आवश्यकता दोहोर्याए। उनले सबै आन्दोलनहरूमा नेकपा एमाले अग्रभागमा रहेकाले नेकपा एमाले निराश हुन नजान्ने बताए। 

‘यी सबै आन्दोलनहरूमा नेकपा एमाले अग्रभागमा छ। नेकपा एमाले निराश हुन जान्दैन, हतोत्साही हुन जान्दैन। यसले समाज विज्ञानलाई बुझेको छ। समाज कसरी अघि बढ्छ भन्ने कुरालाई बुझेको छ। समाज पछाडि फर्कंदैन,’ ओलीले भने।
 

प्रकाशित मिति: १७:१२ बजे, शुक्रबार, कात्तिक २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्