‘नयाँ र ताजा नेतृत्व चयन गरी कांग्रेस चुनावमा जानुपर्छ’
‘यदि समय र परिस्थितिका कारण त्यो सम्भव भएन भने कुनै हालतमा २०८२ पुस मसान्तसम्म महाधिवेशन सम्पन्न गर्नैपर्छ।’
काठमाडौं, कात्तिक २० : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको १५ औँ महाधिवेशन आगामी मंसिर मसान्तसम्म गर्नुपर्ने बताएका छन्।
काठमाडौंमा उपलब्ध जिल्ला सभापति र पूर्व जिल्ला सभापतिहरूसँग शुक्रबार भएको अनौपचारिक छलफलमा नेता कोइरालाले यस्तो भनाई राखेका हुन्।
उनले महाधिवेशन गरेर चुनावमा जानु उचित हुने भनाई राखेका हुन् । छलफलमा कोइरालाले भने, ‘यदि समय र परिस्थितिका कारण त्यो सम्भव भएन भने कुनै हालतमा २०८२ पुस मसान्तसम्म महाधिवेशन सम्पन्न गर्नैपर्छ।’
आगामी आमनिर्वाचनअघि नै नयाँ र ताजा नेतृत्व चयन गरी कांग्रेसले चुनावमा जानु आवश्यक रहेको पनि उनले बताए । उनले पार्टीभित्र एकता, संयमता र जिम्मेवारीका साथ अघि बढ्नुपर्नेसमेत बताए। कसैले पनि पार्टीमा ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने सोच राख्न नहुने समेत उनले बताए।
‘म पार्टीमा एकता र मेलमिलाप चाहन्छु । गुट, उपगुट र फुटको अन्त्य गर्न चाहन्छु। कोही कसैप्रति आग्रह वा पूर्वाग्रह नराखी अघि बढ्नुपर्छ,’ उनले भने।
पार्टीका लाखौँ शुभेच्छुक र बाह्य पक्षहरू अहिले नेपाली कांग्रेसको निर्णय हेरिरहेको भन्दै जिम्मेवार निर्णय लिनैपर्ने उनको भनाई छ।












