रास्वपा कार्यबहाक सभापति अर्यालले खोले जेनजी आन्दोलनका पाँच कारक
‘जनता चरम भ्रष्टाचारका शृंखला र तिनमा राजनीतिक संरक्षणका कारण आजित भइसकेका थिए,’ उनले भनेका छन्।
काठमाडौं, कात्तिक २० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबहाक सभापति डिपी अर्यालले केन्द्रीय समितिको विस्तारित बैठकमा प्रतिवेदन पेश गर्दै भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका पाँचवटा कारक तत्व खोलेका छन्।
उनले देशको राजनीति नयाँ मोड पुग्नुमा पाँच वटा कारणको प्रमुख भूमिका रहेको बताएका हुन् । शुक्रबार चितवनमा सुरु भएको रास्वपा केन्द्रीय समितिको विस्तारित बैठकमा प्रश्तुत प्रतिवेदनमा दुई ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकारले नागरिकका जायज आवाजसमेत नसुनेको, दलीयकरण र निरंकुशता लाद्ने प्रयत्न गरेकोलगायत कारणले आक्रोश बढेको ठहर अर्यालको छ।
उनले प्रतिवेदनमा २०६२/०६३ को राजनीतिक परिवर्तनले गणतन्त्र स्थापित गरेपछि कांग्रेस, एमाले र माओवादी केन्द्रले पटक–पटक सरकारको नेतृत्व गरे पनि उनीहरूबिचको कटुतापूर्ण प्रतिस्पर्धा, अस्वाभाविक मिलन, अविश्वासको राजनीति र सत्ता स्वार्थका कारण सरकारहरू स्थिर हुन नसकेको बताएका छन्।
पुराना दलहरूले सरकारको नेतृत्व गर्दाका ठुला–ठुला भ्रष्टाचार काण्ड बाहिर आए पनि प्रभावकारी छानबिन नभएका कारण असन्तुष्टि चुलिएको सन्दर्भ पनि अर्यालले उठाएका छन्। ‘जनता चरम भ्रष्टाचारका शृंखला र तिनमा राजनीतिक संरक्षणका कारण आजित भइसकेका थिए,’ उनले भनेका छन्।
यस्तै, पुराना दलहरूको नेतृत्वमा रहेका सरकारले सुशासन कायम र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन नसकेको विषय पनि उठाएका छन्।
‘राज्यका सबै संरचना र निकायमा ढिलासुस्ती, अनियमितता र बिचौलियाको बिगबिगी कायम रह्यो । आधारभूत सेवा सुविधा प्राप्त गर्न पनि राजनीतिक भनसुन गर्नुपर्ने वा घुस नै खुवाउनु पर्ने परिस्थितिले जनतालाई आक्रोशित बनाउँदै ल्याएको थियो,’ उनले भनेका छन्।
पुराना दलहरूले परम्परागत राजनीतिक शैलीलाई निरन्तरता दिँदा गुटबन्दी, नातावाद, कृपावाद हावी भएको पनि बताएका छन् । नयाँ विचार र नयाँ पुस्ताका लागि ती पार्टीभित्र खासै स्थान बन्न नसकेको उनको निश्कर्ष छ।
अर्यालले पुराना दल नेतृत्वको सरकारले देशभित्र पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न नसकेको विषय पनि ण्ठाएका छन् । यसलाई पनि जनतामा निराशा बढाउने कारकका रूपमा औंल्याइएको छ।
‘युवा पुस्ताले आफ्ना अग्रज र समकालीनले पढाइ सकेर पनि देशमा भविष्य नदेखेर विदेशिएको देखे । शासकहरूले अफ्नो भविष्य बर्बाद पारे भन्ने तीव्र असन्तुष्टिले उनीहरू परिवर्तनको हिस्सामात्र होइन, निर्णायक शक्ति नै बन्न अगाडि सर्दा जेनजी आन्दोलन भयो,’ प्रतिवेदनमा उल्लेख छ।












