राजदूत फिर्ता बोलाउनले परराष्ट्र मन्त्रालयको पत्रमा नेपाल बारको आपत्ति
बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले बुधबार विज्ञप्ति जारी गर्दै अदालतको आदेश वा फैसलाको अक्षरश पालना गर्न अनुरोध गरेका हुन्।
काठमाडौं, कात्तिक १९ : सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरूद्ध परराष्ट्र मन्त्रालयले राजदूतहरूलाई फिर्ता बोलाएको बिषयमा नेपाल बार एशोसिएसनले आपत्ति जनाउँदै यस्तो कार्य रोक्न भनेको छ।
बारले एक विज्ञप्ति जारी गर्दै अदालतको आस्थामा आँच आउने काम नगर्न आग्रह समेत गरेको छ। बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले बुधबार विज्ञप्ति जारी गर्दै अदालतको आदेश वा फैसलाको अक्षरश पालना गर्न अनुरोध गरेका हुन्।
महासचिव कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘अदालतको फैसला वा आदेशको परोक्ष रूपले पालना नगर्ने कार्यले स्वेच्छाचारिताको प्रवर्धन गर्दछ। अदालतको आदेश वा फैसला अक्षरश पालनाका लागि अनुरोध गर्दै अदालतप्रतिको आस्थामा आँच आउने कुनै पनि कार्य नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौ।’
सरकारले ११ वटा देशमा रहेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेपछि दायर रिटमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भएको थियो। न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार राजदूत फिर्ता गर्ने निर्णयलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
मन्त्रिपरिषदबाट गत असोज ३० मा राजदूत फिर्ता गर्ने निर्णय भएको थियो। उक्त निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न सर्वोच्चले आदेशमा भनेको छ। उक्त अन्तरिम आदेशलाई वेवास्ता गर्दै परराष्ट्र मन्त्रालयले सोमबार ११ राजदूतलाई अर्को व्यवस्था नभएसम्मलाई फर्किन अनुरोधसहित पत्र पठाएको छ।
राजदूतलाई कात्तिक २० गतेभित्र काटिसकेको हवाइ टिकट प्रयोग गरी नेपाल फर्किन भनिएको छ।












