डा.निकोलस भुसाल गोरखाबाट पक्राउ, काठमाडौं ल्याइँदै
प्रहरीले गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट मंगलबार पक्राउ गरी भुसाललाई काठमाडौं ल्याउने तयारी गरिएको छ।
काठमाडौं, कात्तिक १८ : जेन–जी अभियन्ताका रुपमा चिनिने डा.निकोलस भुसाल पक्राउ परेका छन्।
डा.भुसाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखाबाट पक्राउ गरेको हो। प्रहरीले गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट मंगलबार पक्राउ गरी भुसाललाई काठमाडौं ल्याउने तयारी गरिएको छ।
सामाजिक सञ्जालमार्फत विवादस्पद अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको हो । भुसालले अराजक र हिंसा भड्काउ अभिव्यक्ति दिएको आरोप लागेको छ।
उनले कात्तिक १६ गते सम्वाद डबलीमा पत्रकार सम्मेलन गर्दै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतको नाम लिँदै हिंसात्मक अभिव्यक्ति दिएका थिए।
यस्तै, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध पनि यस्तै खालको अभिव्यक्ति दिएका थिए।
के भनेका थिए भुसालले ?
गत भदौ २३ गते जेनजी आन्दोलनमा दमन भएको भन्दै भुसालले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई हत्याराको संज्ञा दिएका थिए। उनले ओली र लेखकलाई सरकारले कारबाही नगरे आफूहरु नै कारबाहीका लागि अगाडि सर्ने समेत बताएका थिए। कारबाहीका लागि आफूहरु ओली र लेखकको घर जाने समेत बताएका थिए।
यस्तै, भुसालले हालका प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालविरुद्ध पनि आपत्तिजनक अभिव्यक्ति दिएका थिए । कार्कीलाई ‘हुतिहारा’ भनेर टिप्पणी गरेका थिए । भुसालले गत २३ असोजमा माइतीघरमा प्रदर्शन गर्न खोज्दा पक्राउ समेत परेका थिए। अस्पतालमा उनको स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको मेडिकल रिपोर्ट आएको थियो।
उनले आफ्ना भनाई राख्नेक्रममा प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अपशब्द प्रयोग गर्दै आफूमाथि कारबाही गर्न सरकारलाई चुनौति पनि दिएका थिए । गृहमन्त्री अर्याललाई ‘हे गृहमन्त्री तैले कारबाही गर्न सक्छस् भने गर् मेरै गाउँको होस् तँ पनि । खास त रेस्पेक्ट गरेर भेना भन्नुपर्ने हो त्यही पनि तँ भन्न बाध्य छु,’ भनेका थिए।
उनले आफूले बालुवाटार माथि मिसाइल राखेको बताउँदै छन् । त्यसबाट कोही नबच्ने धम्की समेत दिएका थिए। आगामी फागुन २१ मा चुनाव गर्ने हो भने प्रत्यक्ष कार्यकारी प्रमुखसहितको चुनाव गर्नुपर्ने, नत्र चुनाव हुन नसक्ने चेतावनी पनि उनले दिएका थिए।
त्यो कार्यक्रममा काठमाडौं महानगर प्रमुख बालेन शाहले समेत जेनजीका माग पुरा नगरेको भनेर उनले आक्रोश पोखेका छन् । उनले अराजक र भड्काउ अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई निगरानीमा राख्दै आएको थियो।












