चलाउनेसहित १५ जनाविरुद्ध २ अर्ब ७ करोड ६२ लाखको सम्पत्ति शुद्धीकरण अभियोग
६० किलो सुन समेत गरी २ अर्ब ७ करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो। सम्पत्ति शुद्धीकरण विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
काठमाडौं, कात्तिक १८ : ६० किलो सुन तस्करी प्रकरणमा मुछिएका जीवन चलाउनेसहित १५ जनाविरुद्ध सम्पत्ति शुद्धीरणको मुद्दा दायर भएको छ।
६० किलो सुन समेत गरी २ अर्ब ७ करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो। सम्पत्ति शुद्धीकरण विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
मुद्दाका मुख्य प्रतिबादी रहेका चलाउने बर्दियाको गेरुवा गाउँपालिका–४ घर भई काठमाडौंमा बसोबास गर्दै आएका व्यक्ति हुन्। उनलाई फरार देखाउँदै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको हो। उनको ३२ ठाउँमा १५ करोड ३० लाख ५१ हजार रुपैयाँ बराबरको जग्गा भेटिएको छ।
विभागको छानविनबाट काठमाडौंका बलम्बु, मुलपानी र गोठाटारसहित पाँच ठाउँमा र काभ्रेका ९ ठाउँमा जग्गा भेटिएको छ। झापाको चन्द्रगढीमा मात्रै १३ ठाउँमा चलाउनेका नाममा जग्गाहरु भेटिएको विभागले जनाएको छ । रौतहटका विभिन्न पाँच ठाउँहरुमा पनि चलाउनको जग्गा भेटिएको छ । अभियोगपत्रमा जग्गाहरु जफतका लागि मागदाबी गरिएको छ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगको प्रतिवेदनमा चलाउनेलाई सीआईबीका तत्कालीन एआईजी किरण बज्राचार्यले छाडेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको थियो । सिआईबीको छानविनले सुन प्रकरणमा जोडिएका चलाउनेको बेल्जियन नागरिक दावा छिरिङसँग कनेक्सन भेटिएको बताएको छ।
सम्पत्ति शुद्धीकरणको कसुरमा प्रतिवादी बनाइएका १५ प्रतिबादी मध्ये एकजना प्रतिवादी मात्रै पक्राउ परेका थिए। अरु सबै फरार छन्। अभियोगपत्रमा मस्टा गु्रप र रेडी ट्रेड कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ।
६० किलो ७७८ ग्राम सुन तस्करी प्रकरणमा चलाउनेसहितका २९ जना प्रतिबादीविरुद्ध यसअघि ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो कायम गर्दै दायर अर्को मुद्दा हाल विचाराधीन छ।
सुन तश्करीसम्वन्धी मुद्दामा चिनियाँ नागरिक लि वेन टिसुङ, रोगर भनिने लि नेन्काई, सुटेन भनिने डिङ सेङ्फा, लिन चछ्याङ, टासी भनिने थुप्तेन छिरिङ, दावा छिरिङ, याङ वेन, मी टीएन गरी ९ चिनियाँसहित १६ नेपाली पुर्पक्षका लागि थुनामा छन्।
अहिले दर्ता भएको सम्पत्ति शुद्धीकरण कसुरको मुद्दामा प्रत्येक व्यक्तिको हकमा फरकफरक बिगो कायम गरिएको छ।












