जेन्जी आन्दोलनमा प्रहरीको हत्याका आरोप पाँच जना कारागार चलान
आन्दोलनमा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय, जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपमा पक्राउ परेका पाँच जना पर्पक्षका लागि कारागार चलान भएका हुन्।
काठमाडौं, कात्तिक १६ : जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना कारागार चलान भएका छन्।
आन्दोलनमा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय, जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपमा पक्राउ परेका पाँच जना पर्पक्षका लागि कारागार चलान भएका हुन्।
कारागार चलान हुनेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ घर भएका ६२ वर्षका होमप्रसाद पौडेल, उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएका २८ वर्षीय टिकाराम विक, काभ्रेको रोशी गाउँपालिका–९ राजवास घर भएका २८ वर्षीय युवराज क्याप्छाकी, मकवानपुरको थाहा नगरपालिका–७ बतासे घर भएका २१ वर्षीय सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ र कैलालीका अनुयम भण्डारी पनि पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जेनजी आन्दोलनमा ३ प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो। प्रहरी हत्या आरोपमा अहिले पनि ७ जना हिरासतमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए।
उनका अनुसार अहिले हिरासतमा सोम गुरुङ, राजिव गुरुङ, युनिक श्रेष्ठ, सुमित तितुङ, दिपक मगर, अलिश श्रेष्ठ र सौरभ तामाङ छन्। उनीहरूको अनुसन्धान अन्तिम चरणमा पुगेकाले केही दिनमै मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ।












