Kathmandu Press

माओवादी केन्द्र र गोपाल किरातीको मोर्चाबीच एकता गर्ने सहमति

दुई नेताले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी शक्तिहरूबीचको एकता र ध्रुवीकरणलाई आजको प्राथमिक राजनीतिक कार्यका रूपमा अघि बढाउने निर्णय सार्वजनिक गरेका छन्।
माओवादी केन्द्र र गोपाल किरातीको मोर्चाबीच एकता गर्ने सहमति

काठमाडौं, कात्तिक १७ : नेपाली राजनीतिमा देखा परिरहेको अस्थिरता र जोखिमपूर्ण परिस्थितिलाई सम्बोधन गर्ने उद्देश्यले नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीबीच महत्वपूर्ण सहमति भएको छ। 

दुई नेताले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी शक्तिहरूबीचको एकता र ध्रुवीकरणलाई आजको प्राथमिक राजनीतिक कार्यका रूपमा अघि बढाउने निर्णय सार्वजनिक गरेका छन्।

Hardik ivf

‘जनयुद्धका बेला हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने नीति अन्तर्गत देशका कान्तिकारीहरूबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य बनेको छ,’ विज्ञप्तिमा भनिएको छ।

विगतका वैचारिक, राजनीतिक र सांगठनिक कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्न कार्यटोली गठन गर्ने, गोपाल किरातीले प्रस्तुत गरेको देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रको अवधारणामा पार्टीभित्र विस्तृत छलफल गरी जनवादका आधारमा निर्णय गर्ने, र उक्त सहमति कार्यान्वयनका लागि माक्र्सवादी क्रान्तिकारीहरूलाई माओवादी केन्द्रभित्र ध्रुवीकृत गर्ने सहमतिमा उल्लेख छ। 

विज्ञप्तिमा देशभक्त, मजदुर, किसान, सुकुम्बासी, आर्थिक शोषणपीडित, लिङ्ग, जातजाति, क्षेत्र र पहिचानका पक्षधर सबै वर्गहरूलाई समाजवादी ध्रुवीकरणमा सहभागी हुन आह्वान गरिएको छ।

दुवै नेताले नेपालको राष्ट्रिय स्वाधीनता, अखण्डता र सार्वभौमसत्ताको संरक्षण गर्दै संविधानमा उल्लेखित समाजवाद उन्मुख राज्यव्यवस्था कार्यान्वयनका लागि प्रभावकारी पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

सहमतिको निष्कर्षमा दलाल र नोकरशाही पूँजीवादी भ्रष्ट शासनको अन्त्य गरी जनताको सार्वभौमसत्तामा आधारित समाजवादी व्यवस्था स्थापना गर्ने दृढ संकल्प व्यक्त गरिएको छ।
 

प्रकाशित मिति: ११:५० बजे, सोमबार, कात्तिक १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्