Kathmandu Press

माओवादी र नेकपा एससहित ८ वामपन्थी दलबीच पार्टी एकताको सहमति, कार्तिक १९ मा संयुक्त सम्मेलन हुने

एकता सम्मेलनपछि ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिने छ। नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ रहने र चुनाव चिन्ह पाँचकुने तारा तय गरिएको छ।
माओवादी र नेकपा एससहित ८ वामपन्थी दलबीच पार्टी एकताको सहमति, कार्तिक १९ मा संयुक्त सम्मेलन हुने

काठमाडौं, कात्तिक १६ : नेपालको प्रमुख वामपन्थी ८ दलहरूले  पार्टी एकता सहमति गरेका छन्। 

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणमार्फत समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्ने उद्देश्यसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) बीच १८ बुँदे ‘पार्टी एकता सहमति पत्र’ मा हस्ताक्षर भएको छ। 

सहमति अनुसार आगामी १९ गते सहभागी सबै घटक दलका केन्द्रीय समितिहरुको संयुक्त भेलाको रूपमा एकता राष्ट्रिय सम्मेलन आयोजना हुनेछ । उक्त सम्मेलनले पार्टी एकताको घोषणा गर्दै घोषणा–पत्र, अन्तरिम विधान पारित गर्ने र नयाँ केन्द्रीय समिति गठन गर्ने निर्णय भएको छ।

Hardik ivf

एकता सम्मेलनपछि ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिने छ। नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ रहने र चुनाव चिन्ह पाँचकुने तारा तय गरिएको छ।

सहमति पत्रमा पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद, र नेपाली क्रान्तिको कार्यक्रम ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ हुने उल्लेख गरिएको छ। आन्दोलन मुख्यतः शान्तिपूर्ण रहने र परिस्थिति अनुसार सडक, सदन तथा सरकार लगायत सबै मोर्चामा सक्रिय भूमिका रहने सहमति गरिएको छ।

पार्टीको संरचना अनुसार केन्द्रदेखि वडा तहसम्म संयोजक र सहसंयोजक प्रणाली रहनेछ। सबै तहका समितिहरूमा सहभागी दलहरूबाट समानुपातिक समायोजन हुने र समितिहरू जनवादी केन्द्रियताको सिद्धान्तअनुसार सामूहिक नेतृत्व प्रणालीमा सञ्चालन हुने उल्लेख छ।

वैचारिक–राजनीतिक मतभेदका विषयमा निरन्तर छलफल गर्दै अन्ततः एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुग्ने सहमति गरिएको छ।

सहमति पत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महेन्द्रराय यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष डां. बाबुराम भट्टराई, साथै अन्य सहभागी दलका शीर्ष नेताहरू चिरन पुन, राजु कार्की, सुवासराज काफ्ले, कर्णजित बुढाथोकी र प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन्।

 

प्रकाशित मिति: २०:०९ बजे, आइतबार, कात्तिक १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्