निगमका हाकिमलाई सिंहदरबार डाकेर प्रधानमन्त्रीले के भनिन्?
‘यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ । अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन । कतिसम्मको बेथिति हो यो ?,’ निर्देशन दिनेक्रममा कार्कीको भनाई थियो।
काठमाडौं, कात्तिक १६ : प्रधानमन्त्री सुशीला कार्कीले पहुँचका आधारमा जागिर खुवाइएका नेपाल बायु सेवा निगमका करार कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छिन्।
प्रधानमन्त्री कार्कीले आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन्। पर्यटनमन्त्रीका हैसियतमा उनले निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन्।
उनले जेनजीहरूले यत्रो रगत बगाएको केका लागि? नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन ? भन्ने प्रश्न समेत गरिन् । ‘यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ । अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन । कतिसम्मको बेथिति हो यो ?,’ निर्देशन दिनेक्रममा कार्कीको भनाई थियो।
उनले कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको समेत बताइन् । साथै, कार्कीले निगमभित्रका भ्रष्टाचार छानबिन गरी बनाइएका प्रतिवेदनअनुसार तुरुन्त कारबाही गर्न समेत निर्देशन दिएकी छन् । निगम सुधारका लागि बनेका प्रतिवेदन कार्यान्वयन गरी योजनासाथ अघि बढ्न पनि उनले निगम अधिकारीलाई निर्देशन दिइन्।
प्रधानमन्त्री कार्कीले कसैको अनुचित र गैरकानुनी दबाब नसुन्न पनि सुझाव दिएकी छन् । राजनीतिक मान्छेहरूले दिएको दबाब खुरुखुरु मान्दा भोलि कारबाहीमा पर्नसक्ने चेतावनीसमेत कार्कीले दिइन् । ‘यदी विधिसम्मत तरिकाले चल्ने हो भने कसैले पनि कारबाही गर्दैन । राम्रो काम गर्दा अख्तियारसँग पनि डराउनुपर्दैन। अख्तियारलाई बहाना बनाएर हात बाँधेर पनि नबस्नुहोस्।’
निगम १७ अर्ब रुपैयाँभन्दा बढी नोक्सानीमा
सिंहदरबार पुगेका निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगम १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको जानकारी दिए । कालाखेतीकोफेहरिस्त सुनेपछि प्रधानमन्त्री कार्कीले निगमको आफ्नो जहाजको इन्जिन मर्मत गर्न पठाएर नल्याउने गरेको बताइन्।
उनले भाडाको इन्जिन चलाएर ठूलो खर्च लेख्ने प्रवृत्ति रहेको समेत कुरा राखिन् । ‘अब यो संस्था सुधार्न कठोर कदम चाल्नुपर्छ । अप्रिय निर्णय गर्न पनि तयार हुनुपर्छ,’ उनले भनिन्।
साथै, प्रधानमन्त्री कार्कीले निजी क्षेत्रका सेवा प्रदायकले ठूलो नाफा कमाइरहँदा निगम घाटामा जानुको कारण के हो ? भन्ने प्रश्नसमेत उब्जाएकी छन् । सरकारले ठूलो स्रोतसाधन उपलब्ध गराएउँदै साथ दिए पनि संस्था घाटामा गएको भन्दै उनले आश्चर्यसमेत जनाइन् । उनले भनिन्, ‘बरु यो पैसाले विश्वविद्यालय, स्कुल वा अस्पताल बनाएको भए पनि हुन्थ्यो कि?’
कावा अध्यक्ष राईको जवाफ : अप्रिय निर्णय गर्न तयार छु
प्रधानमन्त्री कर्कीको निर्नेशन सुनेपछि निगम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईले केही दिनमै देखिने गरी सुधारका कदम चाल्ने बताए । उनले निगममा बोल्ड निर्णय गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले भने, ‘धेरै नै अप्रिय निर्णय गर्न पनि म तयार छु । यसका लागि सरकारको साथको अपेक्षा गरेको छु ।’ राईको प्रतिबद्धतापछि प्रधानमन्त्री कार्कीले संस्था सुधारका लागि लाग्दा सरकार दाहिने हातमा रहने आस्वासन दिइन् । छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल लगायत अधिकारी पनि थिए ।












