Kathmandu Press

नारायण वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा

पत्रकार–साहित्यकार हुँदै पछिल्लो समय कृषकका रुपमा आफ्नो गाउँ तनहुँ फर्किएका वाग्लेले बायोडायनामिक कृषि अभियानका एक अग्रणी व्यक्तित्व रिनकनलाई पुस्तक उपहार दिएका थिए ।
नारायण वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा

ठमाडौं, कार्तिक १५ : नारायण वाग्लेको तेस्रो पुस्तक ‘कोरियाना कफी गफ’को अंग्रेजी अनुवाद लोकार्पण गरिएको छ।

कालिकास्थानस्थित आरशालामा लेखक नारायण वाग्लेले एडअर्ड़ो रिनकनलाई अनूदित पुस्तक उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको हो। पत्रकार–साहित्यकार हुँदै पछिल्लो समय कृषकका रुपमा आफ्नो गाउँ तनहुँ फर्किएका वाग्लेले बायोडायनामिक कृषि अभियानका एक अग्रणी व्यक्तित्व रिनकनलाई पुस्तक उपहार दिएका थिए ।

नारायण वाग्लेले काठमाडौँमा लामो समय पत्रकारिता गरे । जहाँ उनले अनौपचारिक शैलीमा ‘कफी गफ’ लेखे । कफी गफको लोकप्रियता यति चुलियो कि वाग्ले अहिले पनि पाठकबाट ‘कफी गफ’को त्यो चुस्की लिइरहेका हुन्छन् । वाग्ले भन्छन्, ‘जुन शैलीले मलाई धेरै पाठक र माया दियो, मैले ‘कोरियाना कफी गफ’ पुस्तकमा त्यही शैली अपनाएँ । तर, यो मेरो पत्रिकाहरूको संग्रह नभई नयाँ सृजना हो ।’

Hardik ivf

‘कोरियाना कफी गफ’लाई नेपालीबाट अंग्रेजीमा अनुवाद प्रवीण अधिकारीले गरेका हुन् । वाग्लेको त्यही कफी गफ शैलीबाट प्रभावित भएर आफूले अनुवाद गरेको प्रवीण बताउँछन् । पञ्चायतको बन्द समाजपछि भर्खरभर्खर खुला हुन लागेको नेपाली समाजमा नेपाली भाषालाई यो स्तरको खुलापनमा लैजाने श्रेय आफूले वाग्लेलाई दिने गरेको अधिकारीको भनाइ छ । उनी भन्छन्, ‘नारायण वाग्लेले अंग्रेजी पढ्ने सहरिया पुस्तालाई 'कफी गफ' र 'पल्पसा क्याफे' मार्फत नेपाली भाषातिर आकर्षित गरे ।’

‘कोरियाना कफी गफ’ पढ्दै जाँदा आफूले शैलीमा नवीनता, भाषामा लचकता, भावमा कोमलता भेटाएको अनुवादकको अनुभव छ । यति मीठोसँग लेखिएको कृति संसारलाई पढाउनुपर्छ भन्ने सोचेर त्यही साहित्यिक सुन्दरता अनुवादमा ल्याउन सकूँ भनेर आफूले आफैँलाई चुनौती दिँदै अनुवाद गरको अधिकारी बताउँछन् ।

लेखक वाग्लेले अनुवादक प्रवीण अधिकारीलाई धन्यवाद दिँदै भने, ‘आफू स्वयं पनि साहित्यकार भएको एक सिद्धहस्त अनुवादकले मेरो कृतिलाई झनै सुन्दर बनाइदिएका छन् ।’

नारायण वाग्लेले ‘पल्पसा क्याफे’ र ‘मयूर टाइम्स’ उपन्यासपछि सृजनशील गैरआख्यानका रुपमा ‘कोरियाना कफी गफ’ लेखेका हुन् । २० वर्षअघि प्रकाशन भएको ‘पल्पसा क्याफे’ले मदन पुरस्कार प्राप्त गर्यो । धेरै समीक्षक–समालोचकले नेपाली साहित्य लेखन, प्रकाशन र पठन इतिहासलाई ‘पल्पसा क्याफे’ अघि र पछिका रूपमा व्याख्या गरेका छन् ।

नारायण वाग्लेको ‘पल्पसा क्याफे’देखि प्रकाशन सुरु भएको पब्लिकेसन नेपालयले २० वर्ष पार गरेको छ । यो अवसरमा आफूहरुले सन् २०२५ मा नयाँ पुस्ताका रचना र अनुवाद कृति प्रकाशनमा जोड दिएको पब्लिकेसन नेपालयले नजाएको छ । २५ वर्षमुनिका लेखकहरुका रचना सार्वजनिक आह्वान गरी मागेको र ती नयाँ पुस्ताका रचना समेटी पुस्तक प्रकाशन गर्दै गरेको नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ बताउँछन् । ‘‘कोरियाना कफी गफ’सँगै हामीले यस वर्ष भारतीय लेखक फणीश्वरनाथ रेणुले नेपालको २००७ सालको क्रान्तिबारे लेखेको पुस्तक ‘सात सालको कथा’, नोबेल पुरस्कार प्राप्त चिनियाँ लेखक मो यानका कथा र उपन्यासिकाको पुस्तक यस वर्ष प्रकाशन गरेका छौँ,’ श्रेष्ठ भन्छन्, ‘आउँदो महिना अनुवादको अर्को पुस्तक लोकार्पण गर्नेछौँ ।’

नेपालयबाट ६ वर्षअघि प्रकाशित ‘कोरियाना कफी गफ’को अंग्रेजी अनुवाद प्रकाशन पनि पब्किलेसन नेपालयले नै गरेको हो ।

गत वर्ष नोबेल पुरस्कार विजेता लेखक हान काङको ‘द भेजिटेरियन’लाई प्रवीण अधिकारीले नेपालीमा अनुवाद गरेका छन् भने इन्द्रबहादुर राईका कथाहरुलाई अंग्रेजीमा अनुवाद गरेका छन् ।

‘कोरियाना कफी गफ’ संसारभरका पाठकले अंग्रेजी वा नेपाली भाषामा सजिलै पढ्न सक्नेछन् । देशका प्रमुख पुस्तक पसलहरुका साथै ‘थुप्रै डट कम’ वा ‘अमेजन’ मार्फत पुस्तक किन्न सकिनेछ। 

प्रकाशित मिति: २०:३९ बजे, शनिबार, कात्तिक १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्