नेपाली कम्युनिष्ट पार्टी सबैभन्दा नयाँ हो : प्रचण्ड
‘सबै वामपन्थी कम्युनिष्ट र समाजवादी शक्तिलाई एकताबद्ध गर्दै राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ गहिरो आत्मसमीक्षा र संकल्पबाट यो पार्टी निर्माण गरिएको हो,’ उनले भने।
काठमाडौं, माघ २३ :नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट पार्टी नै अहिलेको सबैभन्दा नयाँ राजनीतिक शक्ति भएको दाबी गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टीको मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले नेकपा एमालेका महत्वपूर्ण नेताहरू पार्टीमा समायोजन भएको उल्लेख गरे। समायोजन भएर आएका नेताहरूले एमाले किन छाडे भन्ने विषयमा आफ्ना धारणा प्रस्तुत गर्दा केपी शर्मा ओलीप्रति केही आग्रह–पूर्वाग्रह देखिएको टिप्पणी गरे।
‘समायोजन भएर आउनुभएका नेताहरूले केपी ओली के हो र देशलाई कहाँ लैजान खोज्दै छन् भन्ने विषयमा धारणा राख्नुभयो। त्यसमा केही आग्रह र पूर्वाग्रह देखिएको छ,’ प्रचण्डले भने।
उनले आफूले सधैं ‘स्वर्ग र नर्क’ को प्रसंग उठाउँदै आएको पनि स्मरण गराए।
उनले नेपाली कम्युनिष्ट पार्टी देशको असाधारण राजनीतिक परिस्थितिमा विशेष पहलका साथ अगाडि बढाइएको पार्टी भएको बताए। ‘सबै वामपन्थी कम्युनिष्ट र समाजवादी शक्तिलाई एकताबद्ध गर्दै राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ गहिरो आत्मसमीक्षा र संकल्पबाट यो पार्टी निर्माण गरिएको हो,’ उनले भने।
पछिल्लो समय सामाजिक सञ्जालमा ‘नयाँ’ भन्दै गरिएको हल्लाप्रति संकेत गर्दै प्रचण्डले नेपालमा आफूहरूभन्दा नयाँ शक्ति कोही नभएको दाबी गरे।
‘आजभोली नयाँ नयाँ भनेर सोसल मिडियाभरी निकै नै होहल्ला गरिएको छ। नेपालमा हामी भन्दा नयाँ कोही पनि छैन’ उनले भने,‘नेपाली कम्युनिष्ट पार्टी मात्रै नयाँ हो । नेपाली कम्युनिष्ट पार्टी सबैभन्दा नयाँ हो। किनकी यो गणतन्त्रको बाहक हो, संघीयताको बाहक हो ।’












