जनतामा विश्वास जगाउने गरी महाधिवेशन गर्न कांग्रेस नेता काफ्लेको आग्रह
उनले हालको नेतृत्वमा रहेका सबै पदाधिकारी सत्ताको भागबण्डामा सामेल रहेको बताउँदै सरकार सञ्चालनको संयन्त्रमा बसेर राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्व राख्ने नीतिगत निर्णयमा पनि मज्जाले सहभागीता रहेको औंल्याएका छन्।
काठमाडौं, कात्तिक १५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जनतामा विश्वास जगाउने गरी महाधिवेशन गर्न पार्टी नेतृत्वसँग आग्रह गरेका छन्।
शनिबार नेता काफ्लेले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कांग्रेसको महाधिवेशन कसैले रोक्दैन, रोक्न सक्दैन, यो समयमै भएरै छाड्छ। महाधिवेशन रोक्न थालियो भन्दै बुख्याँचा खडा गरेर हावामा तरवार चलाउने कम्युनिस्ट शैली कांग्रेसमा राम्रैसँग भित्रिएको देखियो । हुन त यो कम्युनिस्टसँगको लामो उठबसको प्रभाव पनि होला।’
उनले नेपाली कांग्रेस थुप्रै प्रश्नबाट घेरिएको तर पार्टीका पदाधिकारीबीचको स्वार्थ, तानातान र नेतृत्वको होडबाजीसँग जनताले पार्टीमाथि गरेका प्रश्न नजोडिएको बताएका छन्। उनले हालको नेतृत्वमा रहेका सबै पदाधिकारी सत्ताको भागबण्डामा सामेल रहेको बताउँदै सरकार सञ्चालनको संयन्त्रमा बसेर राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्व राख्ने नीतिगत निर्णयमा पनि मज्जाले सहभागीता रहेको औंल्याएका छन्।
‘आफ्नो स्वार्थ अनुरूपको भाग खाएका पनि थिए । यो त आरोप होइन नि ? जो चोर उसैको ठूलो स्वर भनेर हामीलाई कसैले भनिदियो भने के होला हालत ?’ नेता काफ्लेले भने, ‘हामीले नै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा तय गरेका हौं, संघर्ष पनि गरेका हौं र जनतासामु लोककल्याणको बाचा पनि गरेका हौं । त्यो बखत अब आइन्दा कहिल्यै राजनीतिक आन्दोलन गर्नुपर्दैन भनेर जनतालाई आश्वस्त पनि पारेका हौं । त्यसो भन्ने युवाहरू आज पार्टी नेतृत्वमा नै छौं।’
उनले जनताले निर्वाचित गरी सरकार सञ्चालनमा कांग्रेसको सहभागिता रहेको बताउँदै जनता माझ गरेका बाचाप्रति इमान्दार नदेखिएर नै प्रश्नहरू उठेको पनि बताएका छन् । यसको सामना सिङ्गो पार्टीले गर्नुपर्ने भन्दै जनताका प्रश्नलाई नजरअन्दाज गरेर, त्यसलाई ढाकछोप गरेर कसैले पानी माथिको ओभानो बन्न खोज्नु अर्को भयङ्कर ठगी हुने चेतावनी समेत उनले दिएका छन् । यथार्थको विश्लेषण नगरीआत्म समीक्षा बिना अघि बढ्ने कोशिश नगर्न पनि उनले खवदारी गरेका छन्।
‘हाम्रो नेतृत्वमा जारी गरिएको संविधानमा हामीले जनताका ३१ प्रकारका आधारभूत हक प्रबन्ध गरेका छौं । तिनलाई हामीले कागजको खोस्टोमा लेखेर रद्दीको टोकरीमा फालेको सम्झेका त छैनौं ? त्यही संविधान लेखनका लागि त्यत्रो संघर्ष भयो । हजारौंको ज्यान गयो, मानिस अङ्गभङ्ग भए । हामी चाहिँ सत्ताको होडमा आपसमा खोसाखोस गरेर बस्न सुहाउँछ ?,’ काफ्लेको प्रश्न छ।
उनले आफूलाई केन्द्रमा राखेर नभै जनतालाई केन्द्रमा राखेर कुरा गर्न सुझाव दिँदै जनता र तिनका हक बेवास्ता गरेर पार्टीको ईतिहास भजाएर खाने दिन गएको पनि उनले बताए।
‘विचार, चरित्र, नीति, कार्यक्रम, इमान र नैतिकतामा प्रतिबद्ध भएर अधिवेशनमा जाऊँ, जनताबीचमा जाउँ, आम चुनावमा जाउँ। अधिवेशन आजै गरौं या भोलि नै, यो सहज विषय हो,’ उनले भने, ‘यसलाई जटिल बनाउनु पर्दैन । यसमा राजनीति गर्नुको मतलब हामी अझैपनि जनताको जीविका, सरोकार र लोककल्याणको मुद्दामा सिरियस छैनौं।’
काफ्लले आफु सच्चिएर आडम्बर, ढोङ र पाखण्डबाट माथि उठेर जनताप्रति इमान्दार बन्ने म्यासेज बोकेर मात्र महाधिवेशनमा र आम चुनावमा जान तयार हुन पनि सुझाएका छन्।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

