एकीकृत समाजवादी फुटउन्मुख, दर्जन नेता माओवादीसँग एकताको विपक्षमा
पार्टी अध्यक्ष रहेका माधव नेपाल पक्षले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय लिइसकेको छ। तर पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेतृ रामकुमारी झाँक्रीलगायत एक दर्जन नेता भने एकतामा सहभागी नहुने भएका छन्।-(4)-1761915417.jpg)
काठमाडौं, कात्तिक १४ : नेकपा एकीकृत समाजवादीका एक दर्जन भन्दा बढी नेताहरू माओवादी केन्द्रसँगको पार्टी एकतामा सामेल नहुने भएपछि एकता अघि नै पार्टी विभाजनको संघारमा पुगेको छ।
पार्टी अध्यक्ष रहेका माधव नेपाल पक्षले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय लिइसकेको छ। तर पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेतृ रामकुमारी झाँक्रीलगायत एक दर्जन नेता भने एकतामा सहभागी नहुने भएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ झाँक्रीले माओवादीसँग हुन लागेको एकता वाम एकता नभई पार्टी मर्जर भएको बताइन्।
‘यस्तो मर्जरको प्रक्रियाले वामपन्थी आन्दोलनलाई सुदृढ गर्नुको सट्टा पार्टीभित्र तानाशाही प्रवृत्तिलाई बढावा दिन्छ,’ उनले भनिन्।
नेतृ झाँक्रीले वाम एकताका लागि एमाले र विप्लव समूहसहित अन्य राजनीतिक दलहरूसँग संवाद नगरी केवल दुई पार्टीबीचको मर्जरले मात्र विद्यमान समस्या हल गर्न नसकिने पनि बताएकी छन्। वाम आन्दोलनलाई बलियो बनाउने कुराभन्दा केही नेताहरूको व्यक्तिगत एजेन्डा हावी भएको भन्दै आफूहरू पार्टी एकतामा सामेल नहुने उनको भनाई छ।
‘पार्टीले बहुमतको निर्णय गरेर माओवादीसँग गए पनि एउटा ठूलो पँक्तीले आजदेखि पार्टीका थप अगाडिका कार्यक्रममा सहभागी नहुने निर्णय नै गरेका छौं,’ झाँक्रीले भनिन्।
मर्जरले समस्याको समाधान नदिने, आन्तरिक लोकतन्त्र कमजोर हुने, नेतृत्वमा तानाशाही प्रवृत्ति हावी हुने सम्भावना रहेको उनको भनाई थियो। झाँकीका अनुसार ठूलो संख्यामा नेता कार्यकर्ताहरू यस निर्णयप्रति असन्तुष्ट छन्।
यसअघि पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी अर्कोलाई बुझाउनकै लागि एकता गर्न थालिएको भन्दै आक्रोश व्यक्त गरिसकेका छन्। नेता खनालले अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको अवस्थामा नेपालले पार्टी अध्यक्ष पदबाट तत्काल राजीनामा दिनुपर्ने माग समेत गरेका थिए।
माओवादीसँग पार्टी एकताका लागि नेपाललाई एसका नेताहरु राजेन्द्र पाण्डे, बेदुराम भुसाल, जगन्नाथ खतिवडालगायत बहुमतको सहयोग रहेको छ । यसरी माओवादीसँग एकता हुनुअगावै पार्टी फुट्ने अवस्था देखिएको छ ।












