राहदानी छपाइमा आवश्यक पहल गरिदिन जर्मन राजदूतसँग प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री कार्कीले नेपाली नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने यस कार्यमा जर्मन पक्षबाट सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरिन्।
काठमाडौं, कात्तिक १३ : प्रधानमन्त्री सुशीला कार्कीले नेपालस्थित जर्मनीका राजदूत उडो भोल्जसँग नेपालको राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीलाई राहदानी छपाइ कार्यका लागि आवश्यक पहल गरिदिन आग्रह गरेकी छन्।
प्रधानमन्त्री सुशीला कार्कीसँग विहीबार भएको शिष्टाचार भेटमा उक्त आग्रह भएको हो। प्रधानमन्त्री कार्कीले नेपाली नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने यस कार्यमा जर्मन पक्षबाट सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरिन्।
जवाफमा राजदूत भोल्जले आफ्नो तर्फबाट कम्पनीलाई अनुरोध गर्ने र सक्दो पहल गर्ने भनाई राखेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा नेपाल र जर्मनीबीच द्विपक्षीय हित र मित्रताका विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।
भेटका क्रममा जर्मनीका राजदूत उडो भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल कार्यका लागि शुभकामना व्यक्त गर्दै सदाझैँ नेपालको प्राथमिकताअनुसार आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिए । जवाफमा प्रधानमन्त्री कार्कीले राजदूत भोल्जलाई धन्यवाद दिइन्।
शिष्टाचार भेटकाक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायत कूटनीतिक अधिकारीकोसमेत उपस्थिति रहेका जनाइएको छ ।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

