Kathmandu Press

संकटको घडिमा एकजुट हुन जरुरी छ, आत्मनिन्दा कम गर्नुपर्छ : प्रकाशशरण महत

‘पार्टीको मूल मर्म र भावनालाई बुझेका मान्छेहरू मात्रै सक्रिय सदस्य हुन्छन्। सक्रिय सदस्यहरूले नै पार्टी नेतृत्व गर्छन्, हाम्रो पद्धति त्यही हो। अहिले हाम्रो बहस विशेष महाधिवेशन मंसिरमा भन्ने छ, त्यो नै अचुक औषधि जस्तो हो,’ उनले भने।
संकटको घडिमा एकजुट हुन जरुरी छ, आत्मनिन्दा कम गर्नुपर्छ : प्रकाशशरण महत

काठमाडौं, कात्तिक १२ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्रको एकता र आत्मविश्वास सुदृढ गर्न आग्रह गरेका छन्। 

वीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको ‘वर्तमान राजनीतिक विषयमा केन्द्रित’ कार्यक्रममा बोल्दै उनले पार्टीभित्रका मतभेदलाई छोडेर एकताको आवश्यकता रहेको बताए। 

Hardik ivf

उनले अहिले देश गम्भीर संकटमा रहेको र यस्तो अवस्थामा कांग्रेस नेतृत्वले संगठनलाई सशक्त र एकताबद्ध बनाउनुपर्ने बेला आएको बताए। 

‘पार्टीको मूल मर्म र भावनालाई बुझेका मान्छेहरू मात्रै सक्रिय सदस्य हुन्छन्। सक्रिय सदस्यहरूले नै पार्टी नेतृत्व गर्छन्, हाम्रो पद्धति त्यही हो। अहिले हाम्रो बहस विशेष महाधिवेशन मंसिरमा भन्ने छ, त्यो नै अचुक औषधि जस्तो हो,’ उनले भने।

महतले संकटको समयमा एकअर्कामाथि आरोप–प्रत्यारोप नगरी एकताबद्ध हुन आग्रह  गरे। उनले भने, ‘हामीमा कमीकमजोरी अवश्य छन्, त्यसको हिस्सेदार म पनि हुँ। अहिले हामी एकजुट हुने बेला हो, एकअर्कालाई औंला ठड्याउने बेला होइन।’

सामाजिक सञ्जालमा फैलिने नकारात्मक टिप्पणी र राजनीतिक अविश्वासको संस्कृतिप्रति पनि उनले चिन्ता व्यक्त गरे। ‘राजनीतिमा सबै खत्तम हुन्, सबै बदमास हुन् भन्ने प्रवृत्ति बनेको छ। यस्तो नकारात्मक भाष्य सामाजिक सञ्जालमार्फत जबरजस्ती सम्प्रेषित भइरहेको छ,’ उनले भने।

उनले कांग्रेसभित्र आत्मनिन्दा र आत्मविश्वासको कमी देखिएको बताउँदै थपे, ‘जति कमीकमजोरी छ, त्योभन्दा बढी आत्मनिन्दा भएको छ। त्यसैले कांग्रेसजनको आत्मबल कमजोर भएको छ। अब सुशासन र सुधारका पक्षमा ठोस रूपमा उभिनु आवश्यक छ ।’

महतले पार्टीले आगामी विशेष महाधिवेशनलाई संगठनात्मक सुधार र एकताको अवसरका रूपमा लिनुपर्ने बताए।
 
प्रकाशित मिति: १६:४१ बजे, बुधबार, कात्तिक १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्