पार्टीको अवधारणा छाडेर कसैसँग एकता हुन सक्दैन : अध्यक्ष नेपाल
‘आफ्नो अवधारणा छाडेर कसैसँग पनि पार्टी एकता हुन सक्तैन, गरिदैन। यदि यी सबै कुरामा समान धारणा राख्ने कुनै कम्युनिष्ट घटकसँग एकताको सम्भावना भएमा हामी नकारात्मक हुन पनि हुँदैन,’ उनले भनेका छन्।
काठमाडौं, कात्तिक १२ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्ना पार्टीको अवधारणा छाडेर कसैसँग पनि पार्टी एकता हुन नसक्ने बताएका छन्।
आजबाट सुरु भएको केन्द्रिय किमिटी बैठकमा उनले पेश गरेको राजनीतिक प्रतिवेदनमा सो कुरा उल्लेख गरे। उनले प्रतिवेदनमा कुनै कम्युनिस्ट घटकसँग एकताको सम्भावना भएमा त्यसलाई नकारात्मक रूपमा लिन नहुने पनि उल्लेख गरेका छन्।
‘आफ्नो अवधारणा छाडेर कसैसँग पनि पार्टी एकता हुन सक्तैन, गरिदैन। यदि यी सबै कुरामा समान धारणा राख्ने कुनै कम्युनिष्ट घटकसँग एकताको सम्भावना भएमा हामी नकारात्मक हुन पनि हुँदैन,’ उनले भनेका छन्, ‘यिनै सैद्धान्तिक अवधारणाका आधारमा पार्टी एकता गर्न सकिन्छ भने त्यसका लागि हामीले नै पहल गर्नु पर्दछ त्यो जिम्मेवारी वहन गर्न हामी सदैव तत्पर रहनु पर्छ।’
सिद्धान्त र विचार मिल्ने जो कोहीसँग एकता हुने उल्लेख गरेका छन् ।
‘पार्टी एकता हुनका लागि सबभन्दा पहिले पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, सङ्गठनात्मक सिद्धान्त, रणनीतिक लक्ष्य, क्रान्तिको कार्यक्रम, कार्यदिशा र कार्यनीति जस्ता मूलभूत विषयमा एकरूपता हुनु पर्दछ। त्यसको साथै सङ्गठनात्मक संरचना र कार्य प्रणाली कस्तो हुने हो भन्ने विषय पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ,’ प्रतिवेदनमा भनिएको छ।
पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुनुपर्ने, समाजवादी कार्यदिशा अँगाल्नुपर्ने, नेपाली विशेषताको समाजवादी कार्यक्रम अङ्गीकार गर्नुपर्ने र साम्राज्यवाद, प्रभुत्ववाद तथा नवउपनिवेशवादको विरोध गर्दै राष्ट्रको विकास, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, समानता र आम जनताका हक अधिकारको पक्षमा दृढतापूर्वक खडा हुने र सङ्घर्ष गर्ने प्रतिबद्धता गरे एकता गर्न सकिने उनको भनाइ छ।












