Kathmandu Press

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।

छठ घाटहरूमा रंगीन बत्ती, तोरण र विभिन्न सजावटी सामग्रीहरूले दृश्य झनै मनमोहक बनेको छ। छठ पर्वको विधी सुरु भइसकेकाले यहाका लालबकैया, बागमति, झाँझ, चाँदी लगायतका नदी तथा विभिन्न पोखरीलाई स्थानीयवासी तथा क्लबहरूको सहयोगमा विशेष रूपमा सिँगार्ने काम अन्तिम चरणमा पुगेको हो।

Hardik ivf

राजदेवी नगरपालिकाको मुडवालवा मठको पोखरी किनारमा छठ घाट आकर्षक तरिकाले सजाईएको छ। तिहार सकिएसँगै  छठ घाट सजावटको काम गरिएको चाँदी नदी छठ व्यवस्थापन समितिका सुरेन्द्र साहले बताए। 

प्रत्येक वर्ष छठ मनाउनेहरूको संख्या वृद्धि भइरहेकाले यस बर्ष व्यवस्थापनमा विशेष ध्यान दिएको उनको भनाइ छ। अहिले जलाशय तथा ग्रामिण भेगका गाँउमा छठका महिमाको गीतहरु गुञ्जिन थालेका छन्। 

छठका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ। 

छठ व्रत शुद्धताको प्रतीकको रुपमा रहेकाले छठ ब्रतमा प्रसादको रुपमा प्रयोग हुने ठेकुवा फलफूलमा केरा सुन्तला ज्यामिर, निम्बु, उखु, अदुवालगायतका अन्य फलफूल मिठाइ भाँडाको रुपमा प्रयोग हुने माटोबाट निर्मित कलश, दियो, ढकनी, कोशी भर्न माटोको हात्ती बाँसबाट बनेको डगरा, दौँरा, सुपो लगायतका सामानहरु किनमेल गर्नेहरुको भीड स्थानीय बजारमा बढेको छ।

विगत भन्दा यस वर्ष छठ पर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको चन्द्रपुरका स्थानीयको गुनासो छ। चारदिनसम्म चल्ने यो पर्वमा पहिलो दिन नुहाएर पवित्र आहार ग्रहण गर्ने, दोस्रो दिन खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिने र अन्तिम दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएर पर्व सम्पन्न गर्ने परम्परा रहँदै आएको छ।

प्रकाशित मिति: १७:५२ बजे, शनिबार, कात्तिक ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्