नेपाल नर्सिङ सङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम
आन्दोलनका कार्यक्रम अनुसार कात्तिक ४ देखि ११ गतेसम्म देशभरिका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य शैक्षिक संस्थाहरूमा कालो पट्टी बाँधेर काम गरिने भएको छ।काठमाडौं, कात्तिक ४ : नेपाल नर्सिङ सङ्घले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
निजी अस्पताल तथा मेडिकल कलेजमा कार्यरत नर्सहरू कम परिश्रममा लगाएर श्रम शोषण गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलनका कार्यक्रम अनुसार कात्तिक ४ देखि ११ गतेसम्म देशभरिका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य शैक्षिक संस्थाहरूमा कालो पट्टी बाँधेर काम गरिने भएको छ।
कात्तिक १२ देखि १८ गतेसम्म दिनको दुई घण्टा बिहान १० देखि १२ बजेसम्म अत्यावश्यक सेवा बाहेकका नर्सिङ सेवा बन्द गर्ने घोषणा समेत भएको छ । कात्तिक १८ गतेसम्म मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदन अनुसार थप कार्य तालिका प्रकाशित गरिने बताइएको छ।
नर्सको रोजिरोटीका लागि आवस्यक तलब सुविधा हुनुपर्ने भन्दै सङ्घले त्यसैका लागि आन्दोलन गर्ने घोषणा गर्नुपरेको स्पष्ट पारेको छ । नर्सहरूले श्रम ऐनका आधारमा नभई स्वास्थ्य सेवा ऐन अनुसारको पारिश्रमिक हुनुपर्ने बताउँदै आएका छन्।
यसअघि निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको न्युनतम तलब सुविधा साथै अन्य पेसागत हकहितसम्बन्धी विभिन्न मागहरू राखेर सङ्घले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेस गरेको थियो। असोज ३१ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा पहिलो पटक सरोकारवाला पक्षसँग उक्त मागहरूमा छलफल समेत भएको थियो।
सरोकारवाला सहितको बृहत् बैठकबाट सङ्घले १५ बुँदे मागसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । संघले आन्दोलनबाट सर्वसाधरणको स्वास्थ्य सेवामा पर्न जाने असुविधा प्रति क्षमा याचना पनि गरेको छ। आन्दोलनबाट उत्पन्न परिणामको सम्पूर्ण जिम्मेवारी सरकार तथा सरोकारवाला निकायले बेहोर्नु पर्ने चेतावनी समेत दिइएको छ।












