मोडल तथा टिकटकर आँचल मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
काठमाडौं, कात्तिक ३ : मोडल तथा टिकटकर आँचल नाथ मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिनेमा दैलेखको भगवती नगरपालिका–१ घर भएका २६ वर्षीय सन्जु विक, रुकुम चौरजहारी गाउँपालिका–६ घर भएकी अनु भनिने उर्मिला विक, सिन्धुपाल्चोककी २६ वर्षीया सरु भनिने सरस्वती भण्डारी, कैलालीको गौरीगंगा गाउँपालिका–१ कि २२ वर्षीया राजेश बुढा र सोही ठाउँकी २२ वर्षीया लक्ष्मी बुढा छन्।
प्रहरीले प्रतिबादीमध्ये सञ्जुलाई मात्रै पक्राउ गरेको छ । चार जनालाई भने फरार जनाएर मुद्दा दर्ता भएको छ । उनीहरूमाथि आत्महत्या दुरुत्साहनको कसुरमा पाँच वर्षसम्म कैदको मागदाबी गरिएको छ । यी प्रतिबादीसँग टिकटक लाइभमा विवाद भएको र ज्यान मार्नेसम्मको धम्की आएको दाबी पहरीको छ । मतृकका काकाले प्रहरीमा जाहेरी दिएका थिए।
धम्की आएको भनिएकै दिन आँचल नाथ जलेको अवस्थामा कोठामा भेटिएकी थिइन् । उद्धार गरेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिए पनि गत ११ असोजमा उनको मृत्यु भएको थियो।
अनुसन्धानका क्रममा धम्कीपछि आँचलले पेट्रोल छर्केर शरिरमा आगो लगाएको खुलेको छ । प्रहरीले धम्की दिनेहरुविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा मुद्दा चलाउनु पर्ने राय दिए अनुरुप पाँचजनाविरुद्ध मुद्दा दर्ता भएको हो।












