निर्वाचन गर्ने तर्फ सरकार गम्भिर भएको देखिँदैन : डा.प्रकाशशरण महत
उनले अहिलेको सरकारले निर्वाचन गराउने भने पनि त्यसमा गम्भिर नरहेको बताए।
काठमाडौं, कात्तिक १ : मंगलबारबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पनि जारी रह्यो।
मंगलबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठक आज कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको हो।
बैठकमा विभिन्न १० वटा प्रस्तावमाथि धारणा राख्ने क्रम जारी नै रहेको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरू तथा आमन्त्रित सदस्यहरूले आ–आफ्नो धारणा व्यक्त गरेका छन्।
बैठकमा धारणा राख्ने नेताहरूमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ, भरतकुमार शाह, आमन्त्रित सदस्य नारायणी रायमाझी तथा प्रदेश सभापतिहरु उद्धव थापा (कोशी), शुक्रराज शर्मा (गण्डकी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) रहेका छन्।
बैठक कात्तिक १ गते दिउँसो १ बजे पुनः बस्ने तय गरिएको प्रवक्ता डा.प्रकाशशरण महतले बताए।
‘बैठक जारी नै छ । १० वटा प्रस्तावमाथि साथिहरुले धारणा राखिरहेका छन् । शनिबार फेरि दिउँसो १ बजे पुनः बस्ने तय गरिएको छ। जति पनि विषयहरुमा छलफल हुन्छ बैठकमा त्यसको हामी अन्तिममा निष्कर्षमा पुग्छौं,’ उनले भने।
यसैगरी उनले अहिलेको सरकारले निर्वाचन गराउने भने पनि त्यसमा गम्भिर नरहेको बताए।
‘सरकार निर्वाचन गराउने भन्दै छ तर सरकारको काम हेर्दा निर्वाचन गर्ने तर्फ सरकार गम्भिर भएको देखिँदैन । अहिले फेरि पछिल्लो अवस्थामा राजदूत फिर्ता गरिरहेको छ यो सरकारले । यसरी राजदूत फिर्ताले अन्तर्राष्ट्रिय सम्बन्धमा धेरै असर पर्न सक्छ । अहिले चाँही सम्पूर्ण शक्ति,उ र्जा निर्वाचन गराउने तर्फ लाग्नुपर्छ,’ उनले भने।












