Kathmandu Press

जेनजी विद्रोहलाई शंकाको दृष्टिले नहेर्न र यसको लाभ कांग्रेसले लिनुपर्छ : प्रदीप पौडेल

जेनजी विद्रोहलाई शंकाको दृष्टिले नहेर्न र यसको लाभ कांग्रेसले लिनुपर्छ : प्रदीप पौडेल

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको पुस्तान्तरण तथा रुपान्तरणसहितको प्रस्ताव प्रस्तुत गर्दै यसअनुसार अघि बढेमा पार्टीले आगामी चुनावमा बहुमत ल्याउन सकिने तर्क गरेका छन्।

सानेपामा जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो प्रस्ताव प्रस्तुत गर्दै उनले देशमा भएको जेनजी विद्रोहलाई शंकाका रुपमा नहेरी त्यसले उठाएका मुल मुद्दाको सम्बोधनमा क्रियाशिल हुनुपर्ने बताए।

जेनजी पुस्ताको विद्रोहमा उठेको भ्रष्टाचार अन्त्य, सुशासन, आर्थिक विकास, युवा तथा रोजगारीजस्ता विषय जायज भएकाले यसलाई सम्बोधन गर्नु आवश्यक रहेको उनले बताए।

Hardik ivf

‘हामीले पूर्ण प्रजातान्त्रिक अभ्यास गर्न नसकेको, भ्रष्टाचार मौलाएको तथा जनताप्रति उत्तरदायी हुन नसकेका कारण युवाहरुबाट यो विद्रोह भएको अर्थमा बुझ्नु मुलुकका लागि हितकर हुनेछ,’ उनले भने।

संसारभर भएका युवा विद्रोहको प्रष्ट सन्देश सुदृढ लोकतन्त्र भएको उल्लेख गर्दै उनले यो विद्रोहबाट सबै भन्दा बढी लाभ नेपाली कांग्रेसले लिन सक्ने बताए।

‘तर यसको लागि नेपाली कांग्रेसले आफ्ना कमजोरीको निर्मम समीक्षा गरी सुधारको वस्तुपरक बाटो रोज्नु पर्दछ,’ उनले भने।

आफ्नो प्रस्तावलाई दस्तावेजीकरण गर्दै केन्द्रीय समितिमा दर्ता गरेका पूर्व मन्त्री पौडेलले भने, ‘हामीले देशमा भएको युवा विद्रोहलाई शंकाको दृष्टिबाट हेर्नु भन्दा त्यसमा उठेका मुख्य विषयलाई जति सक्दो चाँडो सम्बोधन गर्ने प्रयास गर्नु जरुरी छ,’ उनले भने।

यसो गर्न सकिएमा अहिलेको तरल अवस्थामा उत्पन्न हुने अस्थिरता र स्वार्थी तत्वको प्रवेशलाई नियन्त्रण गर्न सकिने समेत उनले बताए।

नेता पौडेलले युवा विद्रोहका क्रमा भएका घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने पनि बताए।

विद्यमान संकटको निकासमा राष्ट्रपति रामचन्द्र पौडेलले खेलेको भूमिकाको प्रशंसा गरेका उनले पार्टी सभापतिप्रति भएको आक्रमणको निन्दा समेत गरे । नेता पौडेलले सभापतिद्वारा पार्टी बैठकमा २८ गते पेश गरिएको भनाइ जिम्मेवार रहेको भन्दै सोहीअनुसार पार्टी चल्नुपर्ने समेत बताए।
 

प्रकाशित मिति: १५:२१ बजे, शुक्रबार, असोज ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्