सभामुखसँग कांग्रेसले भन्यो- चुनाबबाट कांग्रेस भाग्दैन, सर्वोच्चबाट आउने फैसलाको सम्मान गर्छ
कांग्रेसको धारणा राख्दै प्रमुख सचेतक श्यामकुमार घिमिरेले सर्वोच्च अदालतमा रिट पुगिसकेको जानकारी आएको बताउँदै सर्वोच्चको आदेशलाई मान्दै निर्वाचनको तयारी पनि थाल्ने बताए।
काठमाडौं, असोज २९ : सभामुख देवराज घिमिरेसँग बुधबार भएको छलफलमा नेपाली कांग्रेसले चुनाबबाट नभाग्ने धारणा राखेको छ।
सभामुख घिमिरेले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको छलफलमा कांग्रेसले यस्तो धारणा राखेको हो । सभामुख देवराज घिमिरेले संसद् पुनस्र्थापना विषयमा राजनीतिक दलका नेताहरूसँग राय माग्न बैठक बोलाएका थिए।
कांग्रेसको धारणा राख्दै प्रमुख सचेतक श्यामकुमार घिमिरेले सर्वोच्च अदालतमा रिट पुगिसकेको जानकारी आएको बताउँदै सर्वोच्चको आदेशलाई मान्दै निर्वाचनको तयारी पनि थाल्ने बताए।
प्रमुख सचेतक घिमिरेले भने, ‘आठ दलका प्रमुख सचेतकले संसद् विघटन असंवैधानिक भनिसकेका छौँ । पार्टीको दसैंअघि बसेको कार्यसम्पादन समिति बैठकले असंवैधानिक भनिसकेको छ । तर कांग्रेस लोकतान्त्रिक पार्टी हो, त्यसैले निर्वाचनबाट भाग्दैन । सर्वोच्चको फैसला सम्मान गर्छ ।’
घिमिरेले सर्वोच्च अदालतबाट संसद पुनस्र्थापनाको पक्षमा निर्णय भए पनि सम्मान गरेर अघि बढ्ने बताए।
एमालेले भने प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा रहेको बताएको छ। वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नगएको एमालेको भनाइ छ।
एमालेको प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘अहिले देश संवैधानिक मार्गभन्दा बाहिर छ । एउटा निर्वाचन, अर्को प्रतिनिधिसभा पुनस्र्थापना नै बाटोमा ल्याउने विधि हो। निर्वाचन गराउने अवस्थामा सरकार छैन । गृह प्रशासन नै दलका नेतालाई गिज्याउँदै हिँड्न थालेको छ । राजनीतिक पार्टीले आफ्नो विचार लिएर जनताका बीचमा जान पाउँछन् । लुटेका हतियार ल्याउन सरकारलाई चासो छैन । यसकारणले प्रतिनिधिसभा पुनःस्थापना जरुरी छ।’
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले निर्वाचनको तयारीमा आफूहरू रहेको बताए । निर्वाचनमा जाने निर्णय पार्टीले गरिसकेको उनले बताए । माओवादी केन्द्रबाट पनि निर्वाचनमा खुलेर सहभागि हुने धारणा आएको छ ।











![महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-29_fa91652f-1771075323.jpg)
