राजनीतिक अस्थिरता र षड्यन्त्रका विरुद्ध पार्टी एकजुट हुनुपर्छ : महासचिव पोखरेल
एमाले केन्द्रीय कमिटीको १०औं बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकमा सिर्जना भइरहेको राजनीतिक अस्थिरता र षड्यन्त्रहरुको विरुद्धमा पार्टी एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन्।
काठमाडौं, असोज २९ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी एकताको महत्वलाई जोड दिँदै हाल देश र पार्टी सामु खडा भएका चुनौतीहरुलाई एकताबद्ध ढंगले सामना गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
एमाले केन्द्रीय कमिटीको १०औं बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकमा सिर्जना भइरहेको राजनीतिक अस्थिरता र षड्यन्त्रहरुको विरुद्धमा पार्टी एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन्।
‘राष्ट्रका सामु उत्पन्न भएका चुनौतिहरूलाई सिंगो पार्टीले कसरी सामना गर्ने भन्ने प्रश्नमा जब पार्टीमाथि चुनौतीहरू आउँछन्, त्यतिखेर एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहन्छ । षड्यन्त्रहरूलाई सामना गर्न एकताको ठूलो अर्थ हुन्छ भन्ने कुरा मनन गर्नु अत्यन्तै जरुरी छ,’ उनले भने।
उनले युवाहरूको दुरुपयोग गर्दै मुलुकलाई प्रतिगमनतर्फ लैजान खोज्ने प्रयास भइरहेको आरोप पनि लगाए।
‘मुलुकलाई प्रतिगमनतर्फ लैजानका लागि युवाहरूको दुरुपयोग गर्ने प्रयत्न भइरहेको छ । तर एमालेले युवाहरूलाई मूलधारको राजनीतिमा जोड्नुपर्छ भन्ने स्पष्ट सन्देशसहितको काम गरिरहेको छ,’ उनले भने।












