संसद विघटन र अन्तरिम सरकार गठनविरुद्ध ६ वटा रिट सर्वोच्चमा पेश
सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटनमाथि प्रश्न उठाउँदै एकपछि अर्को रिट निवेदनहरु पेश भएका हुन्।
काठमाडौं, असोज २८ : प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठन भए यता सर्वोच्च अदालतमा ६ वटा रिट निवेदनहरु पेश भएका छन्। दर्ताको टुंगो भने अहिलेसम्म लाग्न सकेको छैन।
सर्वोच्चको रिट दर्ता शाखाले जनाए अनुसार रिट निवेदनहरु थप पेश हुने क्रममा छन् । सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटनमाथि प्रश्न उठाउँदै एकपछि अर्को रिट निवेदनहरु पेश भएका हुन्।
पेश भएका रिट निवेदनमा भने दर्ता न दरपिठको अवस्था छ । गत भदौ २३ र २४ को जेन–जी आन्दोलनकाक्रममा आगजनीबाट ध्वस्त भएपछि सर्वोच्च अदालतको कामकारवाही प्रभावित भइरहेको छ।
दशैंलगत्तै गत आइतबार बसेको सर्वोच्चको पूर्ण बैठकले रिट निवेदनहरु दर्ता खुला गर्ने निर्णय गरेको छ । त्यस यता रिट दर्ता हुने क्रम बढेको छ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले आगामी २१ फागुनमा आम निर्वाचनको घोषणा गरे अनुरुप यतिबेला तयारी भइरहेको छ ।











![महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-29_fa91652f-1771075323.jpg)
